काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका सांस्कृतिक पर्वलाई भाँड्ने खालका क्रियाकलाप कसैले गर्न नहुने बताउनुभएको छ ।
नेपाल संवत् नयाँ वर्ष ११४५ का अवसरमा शनिबार मूल समारोह समितिले काठमाडौंको वसन्तपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कुनै यज्ञ चलिरहेका समयमा बाँदर आएर यज्ञ बिथोले जस्तै सांस्कृतिक चाड र पर्वलाई बिथोल्ने प्रयास हुन नहुनेमा जोड दिनुभएको हो । ‘राजनीतिक तथा सांस्कृतिक कार्यक्रममा यज्ञमा बाँदर आइपुगे जस्तो हुँदैन, यसलाई राष्ट्रिय एकताका साथ सबैको गौरव, सबैको उपलब्धिको रूपमा लिनु पर्दछ’, उहाँले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले नेवारी संस्कृति र भाषा नेपालको एक समृद्धि संस्कृति र विशेष पहिचानको विषय बनेको बताउनुभयो । नेपाल संवतलाई कामकाजका भाषाका रूपमा प्रभावकारी कार्यान्वयन, राष्ट्रिय विभूति शंखधर साख्वाका विषयमा अध्ययन अनुसन्धान र कक्षा ९ र १० को ऐच्छिक विषयका रूपमा नेपाल भाषालाई पनि समावेश गर्ने जस्ता यस क्षेत्रका मागका विषयमा सरकारको ध्यान जाने ओलीले बताउनुभयो ।
उहाँले नेपाल संवत् मूल समारोह समिति आयोजनाका लागि सहयोगस्वरुप विगतमा आफू हुँदा थालनी भएको र बिचका केही वर्ष रोकिएको १० लाख रुपैयाँमा वृद्धि गरी यस वर्ष सरकारले १५ लाख पुर्याएको उहाँले स्मरण गराउनुभयो ।
नेपालको कला, संस्कृतिलाई सफल रूपमा अघि बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो । ‘यसको वास्तवमा नै असाधारण महत्त्व छ, यो नेपाली माटोको उपज हो, हाम्रो भाषा, हाम्रो संस्कृति नेपाली माटोको उपज हो, अन्यत्रबाट आयातित होइन, हाम्रो सभ्यता, हाम्रो संस्कृति हाम्रो माटाको उत्पत्ति हो, हाम्रो कला हाम्रो माटोको उत्पत्ति हो, यी कुरालाई जति संरक्षण गर्न सक्छौँ नेपाली त्यति नै सांस्कृतिक रूपले समृद्ध हुँदै जान्छ’, ओलीले भन्नुभयो ।
नेपाल भौगोलिक, जैविक, भाषिक, सांस्कृतिक विविधताको देश भएको ओलीले प्रष्ट पार्नुभयो । ती मध्य पनि सबैभन्दा धनी संस्कृति काठमाडौं उपत्यकाको संस्कृति भएको ओलीले दाबी गर्नुभयो ।
नेपाल संवत् असाधारण चिन्तनको स्मरणमा सुरु भएको संवत् भएको ओलीले बताउनुभयो । कसैलाई हराएर ल्याएका दिन नेपाल संवत् नभएर जनतालाई ऋण मुक्त गरेको दिन भएको ओलीको भनाइ छ ।
कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुुब्बा गुरुङ, संघीय सांसद् कृष्णगोपाल श्रेष्ठ, नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोललगायत सहभागी हुनुहुन्थ्यो ।
प्रतिक्रिया