काठमाडौं । नेकपा एमालेले काठमाडौंको कीर्तिपुर नगरपालिका-२ स्थित मैत्रीनगरमा केन्द्रीय कार्यालय भवनको शिलान्यास गरेको छ ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार वैदिक विधिअनुसार पार्टी केन्द्रीय कार्यालय भवनको शिलान्यास गर्नुभएको हो । पार्टी कार्यालय भवन बनाउन भाटभटेनी सुपर मार्केटका प्रमुख तथा व्यवसायी मीनबहादुर गुरुङ र सावित्री गुरुङले १० रोपनी १४ आना जग्गा दान गर्नुभएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।
भवन १ वर्षभित्र सक्ने लक्ष्य रहेको छ । जग्गा उपलब्ध गराएकोमा महासचिव पोखरेलले गुरुङ दम्पतीलाई विशेष धन्यवाद दिनुभयो ।
गुरुङले आफूले अन्य राजनीतिक दललाई पनि सहयोग गर्दै आएको र एमालेलाई पनि मद्दत गरेको बताउनुभयो । एक वर्ष भित्र भवन निर्माण गरेर हस्तान्तरण गरिने उहाँले बताउनुभयो ।
शिलान्यास समारोहमा पार्टी उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिव शंकर पोखरेल, सचिव पद्मा अर्याल लगायत एमाले नेता-कार्यकर्ताको उपस्थिति थियो । जग्गादाता गुरुङ दम्पती पनि समारोहमा सहभागी हुनुभएको थियो ।
०७२ को भूकम्पपछि काठमाडौं महानगरपालिका-१४ मदन नगर बल्खुमा रहेको एमाले पार्टी कार्यालय ध्वस्त भएको थियो । त्यसयताका ९ वर्ष विभिन्न ठाउँमा भाडाका भवनमा एमाले बस्दै आएको थियो । हाल च्यासलस्थित पार्टी कार्यालयमा पनि हरेक वर्ष बाढीको सामना गर्नुपरेकाले एमालेले स्थायी रूपमा केन्द्रीय कार्यालय बनाउने काम थालेको हो ।
प्रतिक्रिया