दशैँमा गाउँ जाँदा सकारात्मक सन्देश लिएर जानु पर्छ : शंकर पोखरेल 

Bagmati

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको सांस्कृतिक मूल्य, मान्यता विगठनको प्रक्रिया तीव्र गतिमा अघि बढेको बताउनुभएको छ । 

नेकपा एमाले वाग्मती प्रदेश सम्पर्क कमिटीद्वारा शुक्रबार आयोजित बडादशैँ, तिहार, नेपाल संवत् र छठ लगायत राष्ट्रिय पर्वहरूको अवसरमा आयोजित शुभकामना आदानप्रदान एवं सांस्कृतिक कार्यक्रम बोल्दै महासचिव पोखरेलले सांस्कृतिक मूल्य र मान्यताहरू विगठन हुँदै जाँदा देश गम्भीर संकटमा पर्ने बताउनुभयो । ‘हाम्रा संस्कृति हाम्रो सबल राष्ट्र निर्माणको आधार हो’, उहाँले भन्नुभयो । 

जातीय अतिवाद, धार्मीक अतिवादी र धर्मान्तरले सांस्कृतिक मूल्य मान्यतालाई विगठनको दिशा तर्फ लैजाने पोखरेलले बताउनुभयो । मौलिकताको संरक्षण गर्नु सबैको कर्तव्य भएको पोखरेलले प्रष्ट पार्नुभयो । 

दशैँमा घर फर्कँदा सबैले सकारात्मक सोच र सन्देश लिएर गाउँ फर्कनु पर्ने पोखरेलले बताउनुभयो । यसो गर्न सक्दा मात्र समाज र देशका लागि हित हुने पोखरेलले स्पष्ट पार्नुभयो । नकारात्मक सोच र प्रचारले देश र समाज समृद्धिको दिशामा अघि नबढ्ने उहाँले बताउनुभयो । 

समाजमा देखिएको अराजकता र निराशालाई चिर्न सकियो भने मात्र दशैँ मान्नुको अर्थ र आसुर्य शक्ति माथि दैवीशक्तिको विजय हुने उहाँको धारणा छ । ‘यसो गर्न सकियो भने हाम्रा सांस्कृतिक पर्वहरूको मूल्यलाई स्थापित गर्न सक्दछौँ’, उहाँले भन्नुभयो । 

सभ्य र सुसंस्कृत समाज निर्माणको लागि समाजमा देखिएका सबै खालका बेथिति तथा सामाजिक सञ्जाल मार्फत हुने गलत प्रचारलाई चिर्न सक्नु पर्नेमा उहाँले जोड दिनुभयो । सामाजिक सञ्जाललाई असल सूचना प्रवाह गर्ने थलोका रूपमा विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

नेकपा (एमाले) बागमती प्रदेश कमिटी, प्रचार तथा प्रकाशन विभागद्वारा सञ्चालित

च्यासल, ललितपुर, नेपाल, फोन: +९७७ ९८४१५८९४५४, इमेल: [email protected]