मानिस र पृथ्वीको रक्षाका लागि मिलेर काम गरौँ : प्रधानमन्त्री केपी ओली 

Bagmati

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मानव समुदायको रक्षाका लागि विश्वले मिलेर काम गर्नुपर्ने बताउनुभएको छ । 

संयुक्त राष्ट्रसंघीय मुख्यालय न्यूयोर्कमा आयोजित एन्टिमाइक्रोबियल प्रतिरोधसम्बन्धी उच्चस्तरीय बैठकमा बोल्दै ओलीले मानव र पृथ्वीको स्वास्थ्यको रक्षा विश्वको साझा दायित्व भएको बताउनुभयो । ‘मानिस र पृथ्वीको भविष्य रक्षा गर्न हामी मिलेर काम गरौँ, कसैलाई नछोडी’, ओलीले भन्नुभयो । 

अहिले एन्टिमाइक्रोबियल प्रतिरोध एक महत्त्वपूर्ण विश्वव्यापी सार्वजनिक स्वास्थ्य मुद्दाको रूपमा देखा ओलीले परेको बताउनुभयो । नेपालको राष्ट्रिय स्वास्थ्य नीतिले पनि एन्टिबायोटिकको प्रयोगलाई प्रभावकारी रूपमा नियमन र नियन्त्रण गर्ने आवश्यकतालाई जोड दिँदै यसलाई प्रमुख जनस्वास्थ्य मुद्दाका रूपमा प्राथमिकता दिएको ओलीले जानकारी दिनुभयो । 

नेपालले एएमआरमा राष्ट्रिय कार्य योजना तयार गरेका र स्पष्ट दिशा प्रदान गर्न राष्ट्रिय एन्टिबायोटिक्स उपचार दिशानिर्देशहरू प्रस्तुत गरेको ओलीले बताउनुभयो । ‘यद्यपि, एएमआरद्वारा उत्पन्न खतराहरूसँग लड्नका लागि राष्ट्रिय प्रयासहरू मात्रै अपर्याप्त छन्, तसर्थ, नेपालले बलियो सहयोगी विश्वव्यापी प्रतिक्रियाको लागि आह्वान गर्दछ’, ओलीले भन्नभयो । 

यसकोलागि स्वास्थ्य पूर्वाधार, अनुसन्धान र विकासमा पर्याप्त लगानी गर्नुपर्ने उहाँको राय छ । साथै हामीले जैविक खेती जस्ता दिगो कृषि अभ्यासहरूलाई अगाडि बढाइ स्वास्थ्य जीवनशैलीलाई बढावा दिनुपर्ने उहाँले बताउनुभयो । जसबाट खाद्य सुरक्षालाई सुरक्षित गर्नुका  साथसाथै वातावरणको रक्षा गर्न सकिनेमा उहाँले जोड दिनुभयो । 

सबै क्षेत्रमा एन्टिमाइक्रोबियलको प्रयोगलाई निगरानी गर्न बलियो नियामक ढाँचा र निगरानी प्रणालीको तत्काल आवश्यकता ओलीले औँल्याउनुभयो । साथै नयाँ एन्टिबायोटिक, वैकल्पिक उपचार र नवीन समाधानको विकासका लागि बलियो अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको ओलीले स्पष्ट पार्नुभयो । 

यसलाई नियन्त्रण गर्न सन्तुलित पोषण र स्वच्छ वातावरणको साथ प्राकृतिक स्वास्थ्य हेरचाह दृष्टिकोणलाई बढावा दिनुपर्ने ओलीको धारणा छ । ‘यो दृष्टिकोणले सङ्क्रमण रोक्न र एन्टिबायोटिकको आवश्यकता कम गर्न मद्दत गर्दछ, एन्टिमाइक्रोबियल प्रतिरोधको विरुद्ध लडाइँलाई समर्थन गर्दछ’, उहाँले भन्नुभयो । 

नेपाली जनताको समग्र स्वास्थ्य प्रवर्द्धन गर्न नेपालले निरोगी नेपाल–स्वस्थ नेपालको दर्शन विकास गरेको पनि उहाँले जानकारी दिनुभयो । ‘हाम्रा प्रयासहरू एन्टिबायोटिकको प्रयोग कम गर्न र स्वस्थ, अधिक दिगो भविष्यलाई बढावा दिन निर्देशित छन्’, ओलीले भन्नुभयो ।  

नेकपा (एमाले) बागमती प्रदेश कमिटी, प्रचार तथा प्रकाशन विभागद्वारा सञ्चालित

च्यासल, ललितपुर, नेपाल, फोन: +९७७ ९८४१५८९४५४, इमेल: [email protected]