रामेछाप । नेकपा एमाले पोलिटब्युरो सदस्य एवं रामेछाप जिल्ला इञ्चार्ज कमलप्रसाद चौलागाईँले राजनीतिक स्थायित्वको लागि नेकपा एमालेको बहुमतको सरकार आवश्यक पर्ने बताउनुभएको छ ।
नेकपा एमाले रामेछापको तेस्रो पूर्णबैठकलाई बिहीबार मन्थलीमा सम्बोधन गर्दै चौलागाईँले यसलाई पुरा गर्नको लागि नेकपा एमाले एकताबद्ध भएर अघि बढ्नु पर्नेमा जोड दिनुभयो । ‘सबै कुरालाई समन्वय र संयोजन गरेर एमाले अघि बढ्नु पर्छ’, चौलागाईँले भन्नुभयो ।
नेपालको हरेक राजनीतिक मोडमा पनि बाह्य शक्तिले खेल खेलिरहेको बताउँदै चौलागाईँले अहिले पनि उनीहरूले त्यो काम निरन्तर गरिरहेका बताउनुभयो । नेपाललाई कमजोर बनाउने काममा त्यस्ता शक्तिहरू निरन्तर रूपमा लागि रहेका चौलागाईँले बताउनुभयो । ‘माओवादीसँग बाह्य शक्तिले बोकाएका एजेण्डा छन्, त्यसैले ऊ एमालेसँग मिल्न सक्दैन’, उहाँले भन्नुभयो ।
राष्ट्रलाई कमजोर पार्ने शक्तिका विरुद्ध लड्न र देशमा स्थिरता कायम गर्न एमाले कांग्रेससँग मिलेर सरकार बनाउन पुगेको चौलागाईँले बताउनुभयो । यसको अन्तिम उद्देश्य भनेको विदेशी शक्तिलाई परास्त गर्दै एमालेको एकल बहुमतको सरकार बनाउनु नै भएको चौलागाईँले स्पष्ट पार्नुभयो ।
असल नेतृत्व, स्पष्ट विचार र बलियो राजनीतिक शक्ति नेकपा एमाले नै भएकोले त्यसमा समाहित हुन उहाँले अन्य राजनीतिक शक्तिलाई पनि आग्रह गर्नुभयो । स्पष्ट विचार भएको बलियो राजनीतिक शक्तिले मात्र देशको नेतृत्व गर्न सक्ने चौलागाईँले बताउनुभयो ।
प्रतिक्रिया