काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकार उद्योगीको साथमा रहेको बताउनुभएको छ ।
उद्योग, वाणिज्य संघ ललितपुरको ४५औँ वार्षिक साधारण सभामा बोल्दै उहाँले सरकार र निजी क्षेत्र मिलेर देश निर्माणको काममा लाग्नु पर्ने बताउनुभयो । यसका लागि नीतिगत सुधारका लागि सरकारले निजी क्षेत्रको सुझाव लिएको भण्डारीले जानकारी दिनुभयो । मन्त्रालयले सुधार कार्ययोजना तयगर्ने बेला पनि सबै क्षेत्रसँग सुझाव लिएर कार्ययोजना कार्यान्वयन गरिरहेको भण्डारीले बताउनुभयो ।
आर्थिक मन्दीको कारण व्यवसायीलाई परेको आर्थिक सङ्कटको समाधान गर्न सरकारका तर्फबाट आवश्यक प्रयास थालिएको बताउनुभयो । युवाहरूलाई उद्यमी बनाउन स्टार्टअप कार्यक्रम ल्याएको बताउँदै उहाँले वर्तमान चुनौतीहरूलाई सम्भावनामा बदल्न व्यवसायीलाई आग्रह गर्नुभयो । युवाहरूले विदेशमा मात्रै सम्भावना देख्ने प्रवृत्ति सुखद नभएको उहाँको भनाइ छ ।
मन्त्री भण्डारीले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तह मिलेर मात्रै देशको विकास सम्भव भएकाले जनतामा देखिएको निराशाको अन्त्य गर्न तिनवटै तहका सरकारको सहकार्य आवश्यक रहेको बताउनुभयो । ‘सरकार एमाले, कांग्रेस वा अन्य कुनै दलको हो भन्ने होइन, सरकार मेरो हो, हाम्रो हो भन्ने भावनाको विकास हुनुपर्छ’, उहाँले भन्नुभयो ।
सरकारबाट जनताले आशा राख्न छाड्नु नहुने उहाँले बताउनुभयो । बरु नीतिगत कमजोरी छ भने त्यसमा बहस गर्न आवश्यक रहेको उहाँले प्रष्ट पार्नुभयो । ‘नीति नियम सुधार गर्छौँ, कार्यक्रमहरू सच्याउँछौँ र सरकारलाई बलियो र जनताले अपनत्व महसुस गर्ने बनाउँछौँ’, उहाँले भन्नुभयो ।
प्रतिक्रिया