
ललितपुर, २५ असार । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो मानवीय र भौतिक क्षति पुर्याएको घटनाप्रति नेकपा एमाले वाग्मती प्रदेश कमिटीले गहिरो दुःख व्यक्त गर्दै उद्धार, राहत र पुनःस्थापनामा सक्रिय सहभागिताको आह्वान गरेको छ।
प्रदेश कमिटीका अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलद्वारा जारी विज्ञप्तिमा घटनामा ज्यान गुमाएका नौ जनाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै १९ जना अझै वेपत्ता रहेकामा गहिरो चिन्ता प्रकट गरिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘यस विपतको घडीमा नेपाली सेना, जनपथ प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधि र सर्वसाधारण जनताले देखाएको अदम्य साहसको हामी उच्च प्रशंसा गर्दै सम्मान गर्दछौँ।’
बाढीका कारण नेपाल–चीन जोड्ने मितेरी पुल बग्नुका साथै स्याफ्रुवेशी–रसुवागढी सडक खण्ड पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। बाढीले जनजीवन अस्तव्यस्त बनाएको भन्दै पार्टीले यसलाई राष्ट्रिय चिन्ताको विषयका रूपमा उठाएको छ।
विपद्को प्रत्यक्ष असर परेका नागरिकको तत्काल उद्धार, राहत वितरण र सुरक्षित बासको व्यवस्था गर्न प्रदेश कमिटीले सरकारसँग माग गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘प्रभावित क्षेत्रमा जनशक्ति र स्रोत साधन परिचालन गरी क्षतिग्रस्त संरचनाको अस्थायी तथा स्थायी पुनःनिर्माण योजना तत्काल बनाइनुपर्छ।’
एमाले वाग्मती प्रदेशले आफ्ना सम्पूर्ण नेता–कार्यकर्तालाई पीडित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाको कार्यमा सक्रिय हुन पनि आह्वान गरेको छ।
साथै, मृतकका परिवारजनलाई प्रचलित कानुनअनुसार राहत उपलब्ध गराउन, वेपत्ता व्यक्तिहरूको खोजी कार्यमा तीव्रता दिन तथा घाइतेको निःशुल्क उपचारको तत्काल व्यवस्था गर्न पनि प्रदेश कमिटीले नेपाल सरकारसँग अनुरोध गरेको छ।
प्रतिक्रिया