स्थिरता, विकास र सुशासनले गति लिन थाल्योः प्रधानमन्त्री ओली

Bagmati

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा इमान हुनुपर्ने बताउनुभएको छ ।  आइतबार बालुवाटारमा आयोजित मदन भण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय सम्मेलनमा बोल्दै उहाँले राजनीति भ्रष्टाचार र पैसा कमाउनको लागि गर्न नहुने बताउनुभयो । उहाँले  आफूले सामाजिक परिवर्तनको लागि इमान र सत्यको राजनीति गरेको बताउनुभयो । ‘हामी सचेत छौँ, हामीले इमानको राजनीति गर्ने हो, सत्यको राजनीति गर्ने हो’ उहाँले भन्नुभयो । 

आफूले पैसा कमाउन र आफन्तको व्यवस्थापन गर्न राजनीति नगरेको उहाँले स्पष्ट पार्नुभयो । ‘भ्रष्टाचारको राजनीति हैन, पैसा कमाउनको लागि, पदको दुरुपयोग गर्नको लागि, आफन्तको बन्दोबस्त गर्नको लागि, आफ्ना मान्छे जागिर खुवाउनको लागि हैन, सामाजिक परिवर्तनको लागि प्रयास गरिरहेका छौँ भन्ने कुरा हामीले कहिल्यै पनि हेक्का छोड्नुहुँदैन’, उहाँले भन्नुभयो । 

मदन भण्डारीलाई स्मरण गर्दै उहाँले मदन भण्डारी फाउण्डेशनले जनताको बहुदलीय जनवादलाई पक्रिँदै दृढताका साथ अघि बढ्ने बताउनुभयो । फाउण्डेशनले मदन भण्डारीको विचारलाई जोगाइराख्ने उहाँले स्पष्ट पार्नुभयो । 

ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर आरोप लगाउनेहरूलाई त्यस्ता कुराहरू प्रमाणित गर्न चुनौती दिनुभयो । ओलीले राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीहरूले लाज शरम पचाएर यस्ता आरोपहरू लगाउने गरेका बताउनुभयो । 

देशमा एमाले र नेपाली कांग्रेसको सहभागितामा सरकार बन्नु समयको आवश्यकता भएको बताउँदै उहाँले स्थिरता, विकास र सुशासनले गति लिन थालेका बेला सरकार र नेतृत्वविरुद्ध झुटा आरोप लगाउन थालिएको बताउनुभयो । ‘झुटा कुराको सहायतामा यस्तो विरोध गरिएको छ  कि मानौँ, सरकारले केही गरेको छैन, हामीले देश बरबाद बनाइरहेका छौँ, हामीले कुनै अपराध गरिरहेका छौँ’, उहाँले भन्नुभयो । 

आजकाल निलो रङ्गका स्यालहरूले निकै हाउभाउ गरिरहेका बताउँदै उहाँले तिनीहरूको वास्तविक रूप लामो समय नटिक्ने स्पष्ट पार्नुभयो । एमालेले आफूलाई आगामी निर्वाचनमार्फत निर्णायक राष्ट्रिय शक्तिमा विकसित हुने लक्ष्यका साथ लागेको बताउँदै उहाँले । ती एमालेका  सही विचार इमान र सत्यको राजनीतिबाट स्थापित गर्ने स्पष्ट पार्नुभयो ।  

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरूको टाउकामा अहिले चिसो पानी खन्निएको उहाँले बताउनुभयो । पार्टीभित्रको राजनीतिका हकमा धेरै आलोचनात्मक चेतमा जोड दिन नपर्ने उल्लेख गर्दै उहाँले विश्लेषणात्मक चेत राख्न सुझाव दिनुभयो । ‘पार्टीभित्र एकताको चेत चाहिन्छ,  विरोधीको आरोपको खण्डन गर्नुपर्छ, विरोधीसँग लड्न नसक्ने अनि पार्टीभित्र आलोचनात्मक चेत बोक्ने बाटो सही बाटो होइन’, उहाँले भन्नुभयो ।

नेकपा (एमाले) बागमती प्रदेश कमिटी, प्रचार तथा प्रकाशन विभागद्वारा सञ्चालित

च्यासल, ललितपुर, नेपाल, फोन: +९७७ ९८४१५८९४५४, इमेल: [email protected]