गतिशील समाज निर्माणको लागि तीन पुस्ताको संयोजन हुन आवश्यक: महासचिव शंकर पोखरेल

Bagmati

काठमाडौं: नेकपा एमालेका महासचिव शंकर पोखरेलले गतिशील समाज निर्माणको लागि तीन पुस्ताको संयोजन हुन आवश्यक रहेको बताउनुभएको छ । 

अखिल नेपाल महिला संघ केन्द्रीय युवा कमिटीद्वारा आयोजित दोस्रो राष्ट्रिय युवा महिला भेलालाई बुधबार च्यासलमा सम्बोधन गर्दै पोखरेलले समाज निर्माणका लागि पाका, मझौला र युवा पुस्ताको संयोजन आवश्यक रहेको बताउनुभयो । ‘हामी तीन पुस्ताको संयोजनको आधारमा गतिशील समाज निर्माण हुन्छ भन्ने मान्यता राख्दै आएका छौँ’, उहाँले भन्नुभयो । 

भूमिगत राजनीतिबाट खुल्ला राजनीतिमा आउँदा एमालेमा युवा नै युवा भएका उहाँले बताउनुभयो । त्यस बेला पाका मानिसहरूलाई पार्टीमा जोड्न नेकपा मार्क्सवादीसँग पार्टी एकता गरेको उहाँले स्मरण गराउनुभयो । 

अहिले त्यसको ठिक विपरीत आज पार्टीमा पाका पुस्ताको बाहुल्यता रहेको र युवा पुस्तालाई जोड्नु पर्ने अवस्था रहेको पोखरेलले बताउनुभयो । ‘प्रतिस्पर्धाको राजनीतिमा यो राम्रो लक्षण होइन, प्रतिस्पर्धामा आफूलाई अब्बल बनाउन युवालाई जोड्नु पर्छ, पार्टीको राजनीतिमा युवालाई जोड्न सबै लाग्नु पर्दछ’, उहाँले भन्नुभयो । 

उहाँले सबै पालिका र वडास्तरसम्म अनेमसंघसँगै युवा महिलालाई जोड्नु पर्ने उहाँले बताउनुभयो । देश भरका युवालाई पार्टीमा जोड्न आवश्यक रहेको उहाँले बताउनुभयो । पार्टीमा महिला सदस्यको सहभागिता पनि बढाउनु पर्ने उहाँको धारणा छ । 

युवा सहभागिता विकासकै लागि नेकपा एमालेले देशै भरका युवालाई सहभागी गराएर लोकतन्त्र प्राप्तिका दिन भोली युवा सेलिब्रेसन गर्न लागिएको बताउनुभयो । भोलिको कार्यक्रम युवा सहभागिताको हेर्न लायकको कार्यक्रम हुने उहाँले दाबी गर्नुभयो । भोलिको कार्यक्रमबाट अब देश युवाले बनाउँछन् र बनाउन सक्छन् भन्ने सन्देश  दिनु पर्ने उहाँको धारणा छ । 

नेकपा एमालेले नेपालमा महिला सहभागिता वृद्धिका लागि निर्णायक भूमिका खेलेको उहाँले बताउनुभयो । एमालेकै कारण राज्यका निकायमा ३३ प्रतिशत बढी महिला सहभागिता स्थापित भएको उहाँले स्पष्ट पार्नुभयो । एमाले महिला सहभागिता मात्र होइन नेतृत्वदायी स्थानमा महिलालाई स्थापित गराउने पनि पहिलो पार्टी भएको उहाँको धारणा छ । अहिले हरेक क्षेत्रमा महिला सहभागिता वृद्धि भएको उहाँको धारणा छ । 

नेकपा (एमाले) बागमती प्रदेश कमिटी, प्रचार तथा प्रकाशन विभागद्वारा सञ्चालित

च्यासल, ललितपुर, नेपाल, फोन: +९७७ ९८४१५८९४५४, इमेल: [email protected]