पार्टी फुटाउनेहरू अहिले पुर्पुरोमा हात  लगाएका बसेका छन् : केपी ओली 

Bagmati

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जीवनको लागि गतिशीलता आवश्यक पर्ने बताउनुभएको छ ।  

नेकपा एमाले चितवनको भरतपुर महानगर कमिटीको दोस्रो अधिवेशन उद्घाटन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ओलीले नेकपा एमाले गतिशील पार्टी भएकोले जीवन्त पार्टी भएको बताउनुभयो । नेकपा एमाले र त्यसका सबै जनसंगठन सक्रिय र क्रियाशील हुनु पर्नेमा जोड दिनुभयो । नेकपा एमालेका कार्यकर्ता नेता हुनुपर्ने बताउँदै उहाँले उनीहरू अध्ययनशील र बुझेको कुरा प्रवाह गर्न सक्ने हुनु पर्ने बताउनुभयो । 

पार्टीमा कमिटी पद्धति, प्रणाली र अनुशासन आवश्यक रहेको ओलीले बताउनुभयो । ‘जनताले एमालेलाई मन पराएका छन्, जनतामा समस्या नै छैन, एमाले माथि जनताले आशा, भरोसा र विश्वास गरेका छन्, पार्टीको विचार लिएर एकताबद्ध भएर जनतामा जाने कुरामा समस्या छ’, उहाँले भन्नुभयो । 

एमाले सक्रिय भयो भने कसैले हराउन नसक्ने ओलीले बताउनुभयो । त्यसैले हिम्मत र जित्छौँ भन्ने विश्वासका साथ एकताबद्ध भएर लाग्न ओलीले आग्रह गर्नुभयो । 

नेकपा एमाले देशलाई दिशा निर्देश गर्ने योजनाका साथ मिसन २०८४ को अभियानमा जुटेको ओलीले बताउनुभयो । यसको लागि पार्टीलाई कसैले पनि पराजित गर्न नसक्ने राष्ट्रिय शक्ति बनाउनु पर्ने ओलीको धारणा छ । 

सिङ्गो कम्युनिष्ट पार्टी बनाएर विकासको अभियान चलाएको बेला पार्टी फुटाएर कमजोर बनाउने काम भएको बताउँदै ओलीले अब यो पार्टीलाई कसैले पराजित गर्न नसक्ने शक्ति बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । ‘दुईतिहाइको स्थितिमा पुर्‍याएको पार्टीलाई मतिभ्रष्टहरुले पटक पटक फुटाए, अहिले पुर्पुरोमा हात  लगाएका बसेका छन्’, ओलीले भन्नुभयो । 

एमालेलाई टर्च बालेर खोज्दा पनि नभेटिने बनाउँछौँ भनेर केही शक्ति लागेका भए पनि एमाले दर्बिलो पार्टी बनेको उहाँले बताउनुभयो । एमालेलाई कमजोर बनाउने शक्ति आफैँ पराजित हुँदै जाने उहाँले स्पष्ट पार्नुभयो । केपी ओली मर्‍यो भनेर नक्कली लास बोकेर हिँड्नेले केपी ओली कहाँ छ र के गर्दै छ भन्ने कुरा राम्रोसँग देख्ने उहाँले चुनौती दिनुभयो । 

एमालेको विरुद्ध सामाजिक सञ्जालमा भएको हमला जनताले गरेको नभई विदेशकीको पैसामा केही व्यक्ति र शक्तिले गरेका उहाँले बताउनुभयो । उनीहरूसँग डराउन कुनै आवश्यकता नरहेको उहाँले स्पष्ट पार्नुभयो । 

ओलीले प्रचण्ड र आफ्नो भरतपुर महानगरपालिकामा प्रचण्डकी छोरीलाई उम्मेदवार बनाउने विषयलाई लिएर बिग्रिएको बताउनुभयो । प्रचण्डकी छोरीलाई भरतपुरमा एमाले टिकट दिन मञ्जुर नभए पछि प्रचण्ड नेपाली कांग्रेससँग मिल्न जान्छु भनेर हिँडेका उहाँले सुनाउनुभयो । 

ओलीले नेकपा एमाले नेपाली पुगेका सबै ठाउँमा पुगेको बताउनुभयो । नेकपा एमाले भित्र भित्र सहकारीको करोडौँ करोड खाएर बाहिर कराउँदै हिँड्ने पार्टी नभएको पनि उहाँले स्पष्ट पार्नुभयो । एमाले विकास र सुशासनको काममा ध्यान दिएर अघि बढ्ने पार्टी भएको ओलीको धारणा छ । 

ओलीले नेकपा एमालेका कार्यकर्तामा रिस र अहङ्कार हुनुहुने बताउनुभयो । म नै जान्ने छु  भन्ने अहङ्कार नलिन उहाँले नेता कार्यकर्तामा आग्रह गर्नुभयो । एमालेको पहिचान विनम्रता हो, हामीले सदस्यता कार्ड देखाएर एमाले हुँ भन्नु नपरोस्, देख्ने बित्तिकै, बोल्ने बित्तिकै र व्यवहार गर्ने बित्तिकै एमाले भनेर चिनोस्’, उहाँले भन्नुभयो । 

नेकपा (एमाले) बागमती प्रदेश कमिटी, प्रचार तथा प्रकाशन विभागद्वारा सञ्चालित

च्यासल, ललितपुर, नेपाल, फोन: +९७७ ९८४१५८९४५४, इमेल: [email protected]