
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको काममा साझा सहमति आवश्यक रहेको बताउनुभएको छ ।
भरतपुर पुलचोक–गोन्द्राङ– ६ लेन सडकको शुक्रबार उद्घाटन गर्दै आलीले सबैलाई विकासमा केन्द्रित हुन आग्रह गर्नुभएको हो । उहाँले विकासको काममा राजनीति गर्न नहुने बताउनुभयो । ‘अहिले चुनाव प्रचार गर्नु प¥या पनि छैन, त्यतापट्टि गइहाल्नुपर्ने आवश्यकता पनि छैन, सधैँ राजनीति मात्रै, सधैँ चुनाव मात्रै होइन, विकासमा ध्यान दिऊँ, हामीले एक भएर देश बनाउनुपर्नेछ, मतभेदमा होइन एकतामा जोड दिऊँ’, उहाँले भन्नुभयो ।
विचारमा विविधता हुनसक्ने भन्दै प्रधानमन्त्री ओलीले देशको विकास गर्ने कुरामा मतभेद नराख्न आग्रह गर्नुभयो । ‘हामी सबै मिलेर विकास गर्ने हो, कोही आएर हाम्रो देश बनाउँदैन, आफ्नो बलमा राष्ट्रिय एकताका साथ एकजुट भएर अघि बढेर विकास गर्नुपर्छ’, उहाँले भन्नुभयो ।
देश विकासका लागि स्थिरता चाहिने भन्दै उहाँले दुई ठूला दल मिलेर सुशासन र विकासमा लागेको बताउनुभयो । अब देशको विकासले गति लिने ओलीको भनाइ छ ।
ओलीले भैरहवा, वीरगञ्ज, पोखरा र काठमाडौंको मध्यभागमा पर्ने सो सडक एसियाली मापदण्डअनुसार नमुना बनाइएको र पूर्व–पश्चिम राजमार्गलाई थप फराकिलो बनाइने बताउनुभयो । सरकारको आफ्नै लगानीमा यो सडक बनाइएको उहाँले उल्लेख गर्नुभयो ।

ओलीले चितवन जिल्ला त्रेता युगदेखि नै ऐतिहासिक महत्त्व बोकेको जिल्ला भएको बताउनुभयो । चितवन सभ्यताको सुरुआत भएको भूभाग भएको उहाँले स्पष्ट पार्नुभयो ।
नारायणगढको पुलचोकदेखि भरतपुरको गोन्द्राङसम्मको सो सडक निर्माणका लागि २०७७ साल असोज २६ गते इण्डो सगुन जेभीसँग सम्झौता गरिएको थियो । सडकको सोही वर्ष माघ १७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो । सडक एक अर्ब १३ करोड ३५ लाख ३४ हजार रुपैँयामा निर्माण सम्पन्न भएको हो । ६ दशमलव ०८ किलोमिटर सडक ५० मिटर चौडा रहेको छ । सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्टलाइट जडान र बिजुली भूमिगत गरिएको छ ।
प्रतिक्रिया