
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेलले आज प्रेस चौतारी नेपालका नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष, महासचिवसहितको टिमलाई बधाई तथा शुभकामना दिनुभयो ।
कार्यक्रममा महासचिव शंकर पोखरेलले प्रेस चौतारीको देशव्यापी संरचना नै एउटा ठुलो सञ्चार गृहको हैसियतमा रहेको बताउनुभयो । देशैभरका गतिविधि सङ्कलन गरेर प्रेस चौतारी केन्द्रले त्यस्ता गतिविधिलाई आमसञ्चार माध्यमसम्म पुर्याउने सामर्थ्य राख्ने उहाँको धारणा छ । ‘प्रेस चौतारीमा आबद्ध पत्रकारहरूले एक ठाउँका समाचार अर्को ठाउँमा सजिलै पुर्याउन सक्छन्, समाचार विश्लेषण, टिप्पणी आदि लेख्न हैसियत राख्दछन्, चौतारीको यो सामर्थ्यलाई पार्टीको हितमा प्रयोग गर्नुपर्दछ, देश बनाउन उपयोग गर्नुपर्दछ’, उहाँले भन्नुभयो ।
प्रेस चौतारीमा छापा, विद्युतीय, न्यु मिडिया र सोसल मिडिया सञ्चालनमा राम्रो दखल भएका पत्रकारहरू भएका उहाँले बताउनुभयो । पोखरेलले प्रेस चौतारी नेपाल पार्टीका पक्षमा समाचार र विचार उत्पादन गर्ने सङ्गठन भएको बताउनुभयो । उहाँले पार्टी गतिविधिका समाचार लेखेर पार्टीले आमजनतामा पुर्याउनु पर्ने विषयहरू प्रेस चौतारी मार्फत लैजानु पर्ने धारणा राख्नुभयो । पार्टीमाथिको प्रहार विरुद्ध चौतारीले सङ्गठित रूपमा प्रतिवाद गर्नुपर्ने उहाँले बताउनुभयो ।
महासचिव पोखरेलले प्रेस चौतारीका सदस्यको दोहोरो भूमिका रहेको स्पष्ट पार्नुभयो । ‘चौतारीका सदस्यहरूको दोहोरो भूमिका हुन्छ, पार्टी कार्यकर्ता र पत्रकार, तपाईँहरूले बढ्ता क्याडर हुँदा पत्रकारिता क्षेत्र छुट्न पनि सक्छ, बढी व्यावसायिक पत्रकार हुँदा पार्टीका विरुद्ध हुन पनि सक्छ, त्यसैले यस कुरामा विशेष ध्यान दिनुहोला, प्रेस चौतारीले पार्टीको नीति र नेतृत्वलाई आमजनता समक्ष स्थापित गर्न सदा क्रियाशील हुनुपर्छ’, पोखरेलले भन्नुभयो ।
पार्टीका विरुद्ध भएका मिडिया हमला, साइवर हमलाको प्रतिवादका लागि प्रेस चौतारी नेपाल अग्रपङ्क्तिमा आउनुपर्ने उहाँले बताउनुभयो । ‘एमालेको नेतृत्वविरुद्ध विरोधीहरूले सम्पूर्ण शक्ति परिचालन गरेका छन्, त्यसको प्रतिवादमा पार्टीको सानो हिस्सा मात्र लागेको छ, सूचना र प्रविधिलाई पार्टीको हितमा प्रयोग गर्न सबैलाई प्रोत्साहित गर्नुपर्दछ’, उहाँले भन्नुभयो ।
कार्यक्रममा पार्टीको सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारी, जनसङ्गठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, प्रेस नेपालका चौतारीका निवर्तमान अध्यक्ष गणेश बस्नेत लगायत उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रममा प्रेस चौतारी नेपालका नवनिर्वाचित अध्यक्ष गणेश पाण्डेले नयाँ निर्वाचित नेतृत्वले सक्रियतापूर्वक काम सुरु गरेको बताउनुभयो । उहाँले यो रफ्तारलाई अझ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रतिक्रिया