रामेछाप एमालेकाे जरा केन्द्रित अभिया : एमाले प्रति जनताो विश्वास , नेता प्रति भरोसा

Bagmati

रामेछाप । नेकपा एमाले रामेछाप जिल्ला कमिटीको चौथो विस्तारित बैठक सोमबार मन्थलीमा सम्पन्न भएको छ । 

पार्टीले सञ्चालन गरेको वडा केन्द्रित पार्टी निर्माण अभियानको पहिलो चरणको कार्यक्रम समीक्षा गर्न आयोजना गरिएको बैठकले एमाले प्रति नागरिकको विश्वास र पार्टी नेता प्रति भरोसा रहेको निष्कर्ष निकालेको छ । 

दुईदिनसम्म चलेको बैठकको समापन कार्यक्रममा बोल्दै नेकपा एमाले पोलिटब्युरो सदस्य कमलप्रसाद चौलागाईँले नेता, कार्यकर्तालाई काममा विश्वास गर्न आग्रह गर्नुभयो । अभियानबाट प्राप्त सिकाइको विश्लेषण गरेर आगामी योजना बनाउनु पर्ने उहाँको भनाई छ । चौलागाईँले अभियानका क्रममा आएका कुरालाई पार्टीले सम्पत्ति बनाएर लैजानु पर्ने बताउनुभयो । 

बैठकमा नेकपा एमाले केन्द्रीय सदस्य गीता कार्कीले पार्टीमा कहिल्यै पनि लाभ नखोज्ने नेता कार्यकर्ताले एमाले पार्टी जोगाएको बताउनुभयो ।

एमाले वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले पार्टीले गाउँमा जाऊँ, नागरिकका सुझाव लिऊँ र त्यसका आधारमा योजना बनाउन भनेर वडा केन्द्रित जरा अभियान सञ्चालन गरेको बताउनुभयो । एमाले विरुद्धको घेराबन्दी तोड्न पनि यो अभियानले सहयोग गर्ने उहाँको धारणा छ । 

बैठकमा नेकपा एमाले वाग्मती प्रदेश कमिटी सचिवालय सदस्य एवं स्कुल विभाग प्रमुख शान्तिप्रसाद पौडेलले अभियानको क्रममा नागरिकको भरोसा एमालेसँग भएको पाइएको बताउनुभयो । ‘नेकपा एमाले प्रति जनताको भरोसा छ तर नेतृत्व तहको उपस्थिति गाउँमा पातलो छ’, उहाँले भन्नुभयो । 

गाउँको बस्तुस्थितको सर्वेक्षण र नागरिकको गुनासा सुन्ने काम भएकाले अब यसका आधारमा तत्काल दोस्रो चरणको काम अघि बढाउनु पर्ने उहाँको सुझाव छ । 

प्रदेश कमिटी सदस्य प्रेमबहादुर तामाङले पार्टी सिष्टममा चल्नु पर्ने बताउनुभयो । सधैँभरि चल्छ, यस्तो हो भन्ने हो भने पार्टी कमिटी चल्न नसक्ने बताउनुभयो । 

पार्टी प्रदेश कमिटी सदस्य ज्ञानकुमार श्रेष्ठले पार्टीले सुरु गरेको रचनात्मक कामलाई निरन्तरता दिनु पर्ने बताउनुभयो । पार्टीमा काम गर्नेको सम्मान हुनु पर्नेमा श्रेष्ठले जोड दिनुभयो । 

प्रदेश कमिटी सदस्य गोपाल श्रेष्ठले पार्टी काममा जिम्मेवार भएर लाग्नु पर्ने सिकाइ प्राप्त भएको बताउनुभयो । जिम्मेवारीको काममा नेताहरू लाग्ने हो भने पार्टीलाई जुरुक्कै उठाउन सकिने उहाँको धारणा छ । उहाँले नागरिकलाई जागरूक बनाउन जागरण अभियान चलाउन आवश्यक रहेको बताउनुभयो । 

पार्टी प्रदेश कमिटी सदस्य अर्जुन कार्कीले अभियानले संगठन निर्माणको काममा निक्कै सहयोग गरेको बताउनुभयो । नागरिकसँग भावना साटासाटको लागि पनि अभियान प्रभाकारी भएको उहाँको अनुभव छ । 

पार्टी वाग्मती प्रदेश कमिटी सदस्य दीपशिखा दाहालले अभियानका क्रममा हरेक नागरिकका घरमा गएर नागरिकका सल्ला, सुझाव र गुनासो सङ्कलन गरिएको बताउनुभयो । गाउँमा सञ्चालन गरिएको अभियान सहरमा रहने युवाको बिचमा पनि सञ्चालन गर्नुपर्ने सुझाव आएको उहाँले जानकारी दिनुभयो । 

प्रदेश कमिटी सदस्य सिता खत्रीले नागरिकले साना साना कुरा अपेक्षा राखेको भए पनि त्यो पुरा हुन नसकेको बताउनुभएको छ । पार्टीले यसको गम्भीर समीक्षा गरेर अघि बढ्नु पर्ने उहाँको राय छ । 

पार्टी प्रदेश कमिटी सदस्य गङ्गादेवी कार्कीले अभियानका क्रममा धेरै कुरा सिक्ने अवसर प्राप्त गरेको बताउँदै त्यसको व्यवहारिक कार्यान्वयन गर्ने सके पार्टीलाई समृद्ध बनाउन सकिने बताउनुभयो । 

अर्का प्रदेश कमिटी सदस्य घनश्याम सार्कीले घरदैलो गर्दा नागरिकले खानेपानी, बाढी पीडितको व्यवस्थापन लगायतका काम गर्नुपर्ने सुझाव आएको बताउनुभयो । 

अर्का प्रदेश कमिटी सदस्य हर्कमाया माझीले युवा बिदेसिँदा महिलाले हलो जोत्नु पर्ने अवस्था आएको बताउनुभयो । यसलाई रोक्न युवा पलायन रोक्ने गरी कार्यक्रम बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । 

पार्टी प्रदेश सल्लाहकार समिति उपाध्यक्ष तुलप्रसाद कँडेलले पार्टीको यो अभियानलाई निरन्तर रूपमा अघि बढाउनु पर्ने राय दिनुभयो । पार्टी भित्र आलोचना, आत्मालोचना गरेर पार्टीलाई थप बलियो बनाउँदै लैजानु पर्ने उहाँको धारणा छ । नसकिने हो भने जिम्मेवारी नलिन तर लिएको जिम्मेवारी पुरा गर्न उहाँले आग्रह गर्नुभयो । 

पार्टी प्रदेश कमिटी सल्लाहकार प्रेमबहादुर खड्काले गाउँमा बुढाबुढी मात्रै भेटिने अवस्था सिर्जना भएको पाइएको बताउनुभयो । गाउँ बन्जर बन्दै गएको बताउँदै उहाँले गाउँ गुल्जार बनाउन सरकार र पार्टीले कार्यक्रम बनाउनु पर्ने बताउनुभयो । यसको लागि स्थानीय सकारले पनि योजना बनाउनु पर्ने उहाँले सुझाव दिनुभयो । 

पार्टी वाग्मती प्रदेश कमिटी सल्लाहकार खड्ग सुनुवारले नागरिकको पार्टी प्रति आकर्षण भए पनि नागरिकको त्यो भावनालाई सम्बोधन गर्ने नेता गाउँमा नभएको पाइएको बताउनुभयो । अहिले पनि कतिपय वडामा निर्वाचित वडाध्यक्षहरू अति पूर्वाग्रही रहेका, अर्को पार्टीको कार्यक्रममा जानेलाई सिफारिस नै नदिनेसम्मको अवस्था रहेको पाइएको सुनुवारले सुनाउनुभयो । गाउँमा मान्छे बस्ने वातावरण सिर्जना गर्न राज्यले फरक हिसाबले काम गर्नुपर्ने अनुभव आफूले  गरेको पनि उहाँले सुनाउनुभयो । 

पार्टी नेता रमेश बस्नेतले एमालेले तर्जुमा गरेको जरा केन्द्रित अभियान निक्कै राम्रो भएको बताउनुभयो । तर पार्टीका नेता कार्यकर्ताले पदीय जिम्मेवारी भने गम्भीरतापूर्वक निर्वाह गर्नुपर्ने उहाँको राय छ । 

पार्टी जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरियाले अभियानले एमाले आयो भन्ने सन्देश दिएको बताउनुभयो । नेताहरूलाई गाउँमा जोड्न योजना बनाएर लाग्नु पर्ने सिकाइ अभियानबाट सिकिएको उहाँले स्पष्ट पार्नुभयो । 

पार्टी उपाध्यक्ष होतराज ढकालले एक सय वर्ष माथिका ज्येष्ठ नागरिकको समेत एमाले माथि आस्था र विश्वास रहेको बताउनुभयो । कतिपय ठाउँमा नेताहरूको व्यवहारको कारण पार्टी संकटमा परेको पाइएको उहाँले सुनाउनुभयो । 

पार्टी जिल्ला कमिटी सचिव प्रकाशकुमार कार्कीले घरघुरी सर्वेक्षणले पार्टीको डाटाबेस बनेको बताउनुभयो । नागरिकका धेरै समस्या भएका बताउँदै यसमा पार्टीले बिचार पुर्याउनु पर्ने कुरा धेरै रहेको बताउनुभयो । उहाँले नागरिकलाई गाउँमा नै बस्ने वातावरण बनाउन विकासको मोडल नै परिवर्तन गर्नुपर्ने बताउनुभयो । पूर्वाधार विकासको काम गर्दा आर्थिक, सामाजिक विकासको पनि आधार बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । 

जिल्ला कमिटी उपसचिव मिलनकुमार घिसिङले जरा अभियानबाट धेरै कुरा सिक्नु पर्ने बताउनुभयो । त्यहाँबाट आएका समस्या समाधानका लागि स्थानीय तहदेखि केन्द्रसम्म लाग्नु पर्ने उहाँको सुझाव छ । स्थानीय स्तरमा पार्टीको अवस्था के छ भन्ने कुरा पहिचान गर्न पनि अभियानले सहज भएको घिसिङले स्पष्ट पार्नुभयो । 

जिल्ला कमिटी उपसचिव मखमली श्रेष्ठले अभियानले आधारभूत तहको जानकारी प्राप्त भएको बताउँदै पार्टी निर्माणको लागि अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो । नागरिक समाजसँग छलफल गर्ने र घुलमिल हुने अवसर प्राप्त भएको बताउँदै उहाँले अब पार्टीका नेता कार्यकर्ता परिचालित होइन स्वचालित हुनुपर्ने सुझाव दिनुभयो । 

बैठकमा नेकपा एमाले मन्थली नगरपालिका कमिटी अध्यक्ष रामबाबु घिमिरेले पार्टी र नागरिकको जीवन परिवर्तनको लागि अब नीतिगत रूपमा नै सुधार आवश्यक रहेको बताउनुभयो । उहाँले यो अभियानलाई निरन्तर अघि बढाउनु पर्नेमा जोड दिनुभयो । 

पार्टी रामेछाप पालिका कमिटी अध्यक्ष रोशन पाख्रिनले नागरिकका धेरै समस्या अभियानको क्रममा पहिचान गरिएको बताउनुभयो । अहिले पनि खानेपानीको समेत समस्या नागरिकले झेलिरहेकाले त्यसको समाधानमा लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो । 

नेकपा एमाले उमाकुण्ड गाउँपालिका कमिटी अध्यक्ष नवराज खत्रीले नागरिकको समस्या बुझ्न जारा केन्द्रित अभियान सहयोगी भएको बताउनुभयो । अब यसमा नै टेकेर समस्या समाधानको योजना बनाउनु पर्ने उहाँको धारणा छ । 

गोकुलगंगा गाउँपालिका कमिटी अध्यक्ष सचिन कार्कीले पार्टी र नेता कार्यकर्ताबाट भएका कमजोरी अभियानको क्रममा थाहा भएको बताउँदै त्यसलाई सुधारेर अघि बढ्नु पर्ने बताउनुभयो । नागरिकको अवस्था कस्तो छ ? को कहाँ के के कस्तो अवस्थामा छन् भन्नेसम्मको जानकारी अभियानबाट प्राप्त भएकोले पार्टीको लागि राम्रो सम्पत्ति तयार भएको उहाँको धारणा छ । 

लिखु तामाकोसी गाउँपालिका कमिटी अध्यक्ष केबी पौडेलले गाउँमा धेरै घर खालि भएका बताउँदै मानिसहरूलाई घरमा बस्ने गरी योजना बनाउनु पर्ने सुझाव दिनुभयो । जरा तह अहिले पनि ठिक भएको बताउँदै उहाँले माथिल्लो तह सच्चिनु पर्ने धारणा राख्नु भयो । 

खाँडादेवी गाउँपालिका कमिटी अध्यक्ष मोतीलाल तामाङले नागरिकले देश विकासको काम एमालेले नै गर्ने विश्वास व्यक्त गर्नुभएको बताउनुभयो । नागरिकले सडक, उत्पादनको भण्डारण, कृषिमा व्यवसायीकरण लगायतका विषय माग गर्नुभएको तामाङले सुनाउनुभयो । 

सुनापति गाउँपालिका कमिटी अध्यक्ष रोज ग्यापकले पार्टीलाई उठाउन अभियानले बाटो देखाएको बताउनुभयो । जनताको साना साना काम गरिँदा पनि नागरिकको पार्टी प्रतिको आस्था र विश्वास बढेको उहाँले सुनाउनुभयो । 

बैठकमा पार्टी प्रदेश विभागका नेता ध्रुवकुमार कार्की, प्रदेश कमिटीका पूर्वसदस्य कमल कडरिया, जिल्ला कमिटी सदस्य रुद्रमणि नेवार, दीपक कार्की, मनिता सुनुवार, शेरकुमार सुनुवार, मञ्जुमाया कार्की, विनोद फुयाँल, अशोक सुनुवार, प्रह्लाद खड्का, सुशीला थापा, रजिना बुढाथोकी, कुवेर श्रेष्ठ, तारा रैका मगर, नरेशबाबु श्रेष्ठ, शान्ता न्यौपाने सुवेदी, मनोज कार्की, प्रमीला न्यौपाने सुवेदी, सोनु रोका, सुदर्शन प्रसाईँ, बलबहादुर माझी, शंकर थापा, भुवन श्रेष्ठ, सिताराम लोहनी, राधिका खड्का, नवराज थापा, राधा कार्की, रश्मि मानन्धर, टेकबहादुर श्रेष्ठ विश्व, पुष्करकुमार कार्की, अनिल लामा, खिना तामाङ, रमा घिसिङ, शिवप्रसाद न्यौपाने, दीपा पाख्रिन, मीनप्रसाद गौतम, शिव गौतम, मुकेश योञ्जन, प्रेम लामा, प्रेम थापा मगर, काश्मीर घिसिङ, गोपी बसेल, आङलामु शेर्पा, प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष लेखबहादुर बिक, भूतपूर्व सैनिक तथा प्रहरी संगठनका जिल्ला अध्यक्ष यमबहादुर बुढाथोकी, जिफण्ट जिल्ला अध्यक्ष तीर्थ सुवेदी, अनेरास्ववियु अध्यक्ष पुष्कर भट्टराई लगायतले अभियानसँग जोडिएर आआफ्ना धारणा राख्नु भयो । 

बैठक समापन गर्दै पार्टी जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरियाले अभियानले एमाले प्रतिको आकर्षण बढेकोले पार्टी झन् बलियो भएर जाने बताउनुभयो । नेताको तहबाट निराशाजनक कुरा गर्ने मानिसले पार्टी हाँक्न नसक्ने उहाँले स्पष्ट पार्नुभयो । 

उहाँले पार्टी विश्वासको आधारमा चल्ने बताउँदै कसैमाथि शङ्का आशङ्का नगर्न आग्रह गर्नुभयो । समग्रमा जरा केन्द्रित पहिलो चरणको अभियान सफल भएको निष्कर्ष सहितको निर्णय उहाँले सुनाउनुभयो । 

नेकपा (एमाले) बागमती प्रदेश कमिटी, प्रचार तथा प्रकाशन विभागद्वारा सञ्चालित

च्यासल, ललितपुर, नेपाल, फोन: +९७७ ९८४१५८९४५४, इमेल: [email protected]