काठमाडौं । १० औँ संविधान दिवस तथा राष्ट्रिय दिवसको २०८१ राष्ट्रिय महाउत्सव बन्यो ।
२०७२ साल असोज ३ गते जननिर्वाचित संविधान सभाबाट संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष संविधान दिवस मनाइँदै आएको छ । विगतका वर्षहरूमा पनि संविधान दिवस उत्साहपूर्वक मनाइने गरिन्थ्यो तर यस वर्ष यो दिवस राष्ट्रिय महाउत्सव बन्यो ।
एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र लोकतन्त्र प्रति नागरिकलाई अपनत्व जगाउन दिवसलाई हर्षोल्लासका साथ मनाउने घोषणा गर्नुभएपछि सरकार, राजनीतिक दल तथा नागरिक स्तरबाट समेत देशैभरि विशेष उल्लासका साथ विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाइएको छ ।
काठमाडौंको दरबारमार्गमा दिवसको अवसरमा साँझ आयोजित कन्सर्ट ऐतिहासिक महाउत्सव बन्यो । नागरिक स्तरबाट आयोजित कन्सर्टमा सामाजिक क्षेत्रका अगुवा, राजनीतिकर्मी, कलाकार, आमनागरिकका साथै युवा समुदायको उल्लेख्य सहभागिता रहेको थियो ।

दिउँसो ४ बजेदेखि सुरु भएको कन्सर्टमा ठुलो सङ्ख्यामा नागरिकहरूको उपस्थिति थियो । कार्यक्रममा प्रधानमन्त्री केपी ओली समेतको सहभागिता थियो ।
कन्सर्टमा राष्ट्रिय झण्डा बोकेका युवाहरूले राष्ट्रप्रतिको माया झल्काएका थिए भने कलाकारहरूले राष्ट्र प्रेम झल्कने विभिन्न प्रस्तुति राख्नु भएको थियो ।
हातमा राष्ट्रिय झण्डा फहराउँदै कन्सर्टको स्टेजजमा प्रधानमन्त्री ओली पुग्दा सहभागीहरूले तालीको गडगडाहटबाट स्वागत गर्नुभएको थियो । सुमधुर साँझमा कलाकारहरूको प्रस्तुतिका बिच प्रधानमन्त्री ओलीले संक्षिप्त शुभकामना दिनुभएको थियो । ‘हामी यस भव्य कन्सर्टको आनन्द लिइरहेका छौँ’, ओलीले भन्नुभयो ।
प्रतिक्रिया