राज्यका स्रोत जनता, सार्वभौमसत्ता जनतामा निहित : प्रधानमन्त्री केपी ओली (पूर्ण पाठ सहित)

Bagmati

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य शक्तिको स्रोत जनता  भएका बताउनुभएको छ । 

७५ औँ प्रजातन्त्र दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको संघर्ष तथा वीर-वीरांगना शहीदको बलिदानबाट स्थापित गरेको हुनाले फागुन ७ नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय रहेको बताउनुभयो । 

प्रधानमन्त्रीले गर्नुभएको सम्बोधनको पूर्णपाठ :

फागुन ७ गते १ आजको दिन– हामी नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन हो, बलिदानपूर्ण संघर्षद्वारा आफूलाई रैतीबाट जनताको दर्जामा पुर्‍याएको दिन हो । 

गौरवपूर्ण एवम् ऐतिहासिक यस दिनमा सर्वप्रथम म, सम्पूर्ण लोकतन्त्र प्रेमी नेपालीहरूमा ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । 

जहानियाँ राणा तन्त्रको बर्बरता विरुद्ध आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठसहित सम्पूर्ण अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धा सुमन अर्पण गर्दछु । 

नेपाली लोकतान्त्रिक आन्दोलनको इतिहासमा केही दिनहरू विशेष छन्– चैत २६, वैशाख ११, जेठ १५, र असोज तीन । निर्दलीयताको समाप्ति, लोकतन्त्र, गणतन्त्र र संघीयता सहितको संविधान प्राप्तिमा यी दिनको विशेष महत्त्व छ । प्रत्येक दिनले एकपछि अर्को गर्दै जनतालाई सार्वभौम बनाएका छन्, थप अधिकार दिलाएका छन् । 

 तर ती सबै दिन भन्दा युगान्तकारी महत्त्व फागुन ७ गतेले राख्छ । 

२००७ साल फागुन ७ गते नेपालको इतिहासमा यस्तो सन्धीकाल हो, जसले हाम्रा पुर्खालाई हुकुमी शासनको क्रूर जन्जिरले बाँधिएको घना रातबाट स्वयंको विवेकले चल्ने स्वतन्त्रताको न्यानो बिहानीमा पुर्‍याएको यातनादायी, कहालीलाग्दो तर साहसिक लामो यात्राको स्मरण गराउँछ । 

फागुन ७ गतेले हाम्रो, खेर गएको सिङ्गो शताब्दीको स्मरण गराउँछ । विज्ञान–प्रविधिमा संसारले फड्को मारिरहँदा नेपालमा भने जहानियाँ शासकको एउटा सनकी आदेशले अन्वेषणमा लाग्ने प्रतिभाको हात काटिएको घटनाको स्मरण गराउँछ । सत्य तथ्य बोल्नेको जिब्रो थुतेर पातमा राखिएको, आँखा फोरिएको र नव प्रवर्तनमा लाग्नेहरूको जात काढिएको जस्ता पिडादायी घटनाहरूको याद गराउँछ । 

फागुन ७ गते 

आजको दिनले, शासकका पटाङ्गिनीमा बज्ने बिगुलको इसारामा मात्र घरबाहिर निस्कन र भित्र छिर्न पाइने निरङ्कुश परम्परा सम्झाउँछ । आफ्नै नागरिकले राजधानी काठमाडौं छिर्न समेत ‘भिसा’ लिनु पर्ने र तानासाही शासकका वैध-अवैध सन्तानका लागि भव्य महल ठड्याउन सयौँ नागरिकलाई रैतान भन्दै झाराको उर्दी लगाएर जबरजस्ती श्रम शोषण गर्नेको इतिहास सम्झाउँछ । 

हाम्रो इतिहासको पुरानो कालखण्डमा दौड प्रतिस्पर्धाबाट राजा छान्ने युग थियो । तर, दौडमा समेत झेल गरी शासन हत्याउने र शासनाधिकार आफ्नै वंशमा राख्ने षडयन्त्रकारीहरूको कुरूप अनुहारलाई पनि यस दिनले सम्झना गराउँछ । 

यसरी फागुन ७ गतेले शासनको स्वरूप मात्रै फेरेको होइन, हुकुमी निगाहबाट हुने पजनी फेरेर निजामती प्रशासनको जग हाल्यो । योजनाबद्ध विकासको थालनी गर्‍यो । सार्वभौम समानताको आधारमा मित्रराष्ट्रहरूसँग कूटनैतिक सम्बन्धको सुरुवात गर्याे । 

 समग्रमा फागुन ७ ले मुलुकलाई सबै हिसाबले स्वतन्त्र र सार्वभौम बनाउने दृढ संघर्ष अघि बढायो ।

यसरी हामी फागुन ७ लाई प्रजातन्त्र दिवसको रूपमा मनाउँछौँ । शहीदहरूको महान् त्यागलाई सम्झन्छौँ । नयाँ पुस्तालाई, उनीहरूको उज्ज्वल भविष्यको लागि, पुर्खाले भोगेको हण्डर, ठक्कर तथा बलिदान र समर्पणको महान्–गाथा स्मरण गराउँछौँ । 

प्रजातन्त्रको उज्यालोमा हुर्किएको, अत्याधुनिक सूचना प्रविधि मार्फत अनलाइन सेवा लिने बानी परिसकेको आजको पुस्ताका लागि हिजोको शासनको त्यो क्रूरता– अनुभव होइन, कथा मात्र हो १ 

 तसर्थ, हाम्रो भविष्यका रूपमा उदाउँदै गरेको भोलिको पुस्ताले यो दिन, बिर्सनै नमिल्ने दिन हो । 

पुस्तान्तरको समयचापले कहिलेकाहीँ न्यानो दिनमा रहेका बेला समाजले त्यस कालरात्रिको क्रूरतम् स्मृतिलाई गुमाउन पुग्छ र भन्छ– ‘प्रजातन्त्रले के गरेको छ ? त्यसले त अझै राणा कालका दरबारहरूबाट निर्वाह गरिरहेको छ’ 

 जहानियाँ शासकले आफ्ना सन्तानका लागि दरबार बनायो,

 प्रजातन्त्रले जनताका लागि सडक, पुल, कुलो, बिजुली, व्यावसायिक व्यापार केन्द्र, अस्पताल र विद्यालय बनायो । 

निरङ्कुश शासनले आफ्नो अभिजातीय विलासका लागि बनाएका संरचना र लोकतन्त्रले नागरिकको जीवनमा परिवर्तन ल्याउन बनाएका संरचनाको तुलना वस्तुगत र तथ्यगत हुन सक्छ र ?

 यसलाई आजको पुस्ताले असान्दर्भिक तुलनाबाट होइन, विवेकको तराजुमा राखेर तौलनु पर्दछ ।

निरङ्कुश शासनको कहालीलाग्दो रात पार गरी लोकतान्त्रिक अधिकार उपभोग गरिरहेको हाम्रो समाजले पूर्वाधार विकासमा तुलनात्मक फड्को मारेको छ । सामाजिक सुरक्षाका प्रबन्धहरू विस्तार भएका छन् । सामाजिक न्यायमा प्रगति गरेको छ । समाज, हुकुमी जन्जिरले बाँधिएको अवस्थाबाट सूचना–प्रविधिको सञ्जालमा जोडिएको छ । यसको प्रयोग मार्फत आफूलाई निर्बाध अभिव्यक्त गर्ने स्वतन्त्रताको राजमार्गमा पुगेको छ । 

 स्वतन्त्रताको यही राजमार्गमा यात्रारत यी यात्रीहरूको विवेकले हुकुमी जन्जिरको औचित्य साबित गर्न सक्दैन भन्नेमा म विश्वस्त छु ।  

१०४ वर्ष लामो निरङ्कुश जहानियाँ तन्त्रको अन्त्य पछिको ७५ वर्षमा अनेक आरोह अवरोह बिच छरिएको लोकतन्त्रको उज्यालोमा नै हामीले मुलुकलाई विपन्नबाट सम्पन्नतातिर, विकासोन्मुखबाट विकसित राष्ट्रतिर र असमानताबाट समानतातिर लैजान थालेका हौँ । 

 राष्ट्रको समृद्धि प्रत्यक्षतः जनताको सुख, सन्तुष्टि र खुसीसँग जोडिएको हुन्छ । 

 सम्पन्नताको यात्रा अनवरत चलिरहन्छ ।

‘राष्ट्रको समृद्धि र जनताको सुख’लाई मैले ‘परिपूर्ण लोकतन्त्र’ भन्ने गरेको छु । चलन चल्तीमा भनिने प्रजातन्त्रले ‘संगठन र अभिव्यक्तिको स्वतन्त्रता’को मात्र वकालत गर्‍यो । परिपूर्ण लोकतन्त्रले सबैलाई ‘अधिकार र अवसर, समानता र सामाजिक न्याय, सुरक्षा र सम्मान’मा समान पहुँचको पैरवी गर्छ । समृद्धि भनेको समग्र विकास हो, सुख भनेको व्यक्तिको मानवीय र जैविक न्यायोचित आवश्यकताको सहज परिपूर्ति हो । 

हामी त्यसतर्फ इमानदारीपूर्वक हिँडिरहेका छौँ । 

 बढ्दो जनआकाङ्क्षा र चुनौतीहरूबिच, राज्यको संस्थागत र सामर्थ्य लय मिलाएर सङ्गतिपूर्ण ढङ्गले अगाडि बढिरहेका छौँ ।  

हाम्रो युवा पुस्ता देशको भविष्य हो । उनीहरूलाई शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमको अवसर उपलब्ध गराउन र स्टार्टअप मार्फत उद्यमशीलताको थालनी गरिएको छ । युवाहरूलाई सशक्त बनाएर नै मुलुकलाई समृद्धितर्फ लैजाने यस सरकारको नीति छ । 

 लोकतन्त्रको खुला मैदानमा नै जनताको जीवनमा प्रगति भएको छ । तर हाम्रा चुनौती अझै बाँकी छन् । 

 लोकतन्त्रलाई पारदर्शी र अझ जबाफदेही बनाउँदै, समाजमा व्याप्त असमानता, गरिबी र भ्रष्टाचारलाई हटाउँदै हामी ती चुनौतीलाई चिर्ने छौँ । 

लोकतन्त्रको उज्यालोकै कारण आज हामीले डिजिटल माध्यमबाट नागरिकलाई शीघ्र सार्वजनिक सेवाको थालनी गर्न सकेका हौँ, जसले सरकारी सेवालाई झन्झटरहित र पारदर्शी बनाउन सुरु गरेको छ । 

सन् २०२६ सम्ममा नेपाललाई अति कम विकसित मुलुकको हैसियतबाट स्तरोन्नति गर्ने र त्यसको दिगो व्यवस्थापनका लागि आर्थिक सूचकहरूको बढोत्तरी गर्ने आधार पनि लोकतन्त्र नै हो । सन् २०३० भित्र दिगो विकासका लक्ष्यहरू हासिल गर्ने अभियानमा हामी हाम्रा हरेक क्षण, सम्भावना र सामर्थ्यको सदुपयोग गरिरहेका छौँ । यसबाटै हामी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सफल हुने छौँ । 

फागुन ७ गतेले,

 सम्पूर्ण नेपालीहरूलाई इतिहासप्रति गौरव गर्न, 

 वर्तमानमा क्रियाशीलले जिम्मेवारी निर्वाह गर्न र 

 भविष्यप्रतिको उत्तरदायित्वलाई सामाजिक सम्पत्तिका रूपमा पुँजीकृत गर्न अभिप्रेरित गरिरहने छ । 

अन्त्यमा, 

फागुन ७ गते, नेपाली जनताको प्रजातान्त्रिक हक अधिकार स्थापनाका लागि विगतमा भएका अथक र अनवरत संघर्षमा आफूलाई समाहित गर्ने वीर-वीरङ्गनाहरुको स्मरण गर्ने दिन पनि हो । प्रजातन्त्र स्थापनाको हाम्रो संघर्षपूर्ण इतिहासलाई स्मरण गर्दै त्यस संघर्षमार्फत् जनताले चाहेको राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिको आकाङ्क्षा साकार पार्न सङ्कल्प गर्ने दिन पनि हो ।

जहानियाँ निरङ्कुश शासन प्रणालीलाई समाप्त पारी नागरिक अधिकार स्थापित गरेको यस ऐतिहासिक दिनको स्मरणमा आयोजित यस विशेष समारोहमा म पुनः एक पटक नेपालको लोकतान्त्रिक आन्दोलनमा अमूल्य जीवन बलिदान गर्ने सम्पूर्ण अमर शहीदहरूप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु । मुलुकको सुशासन, विकास, समृद्धि र जनताको सुखको सुनिश्चितताको लागि प्रभावकारी शासन प्रणाली र सुव्यवस्थाको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा एकजुट भई योगदान गर्न सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा म हार्दिक आह्वान गर्दछु । 

धन्यवाद !

नेकपा (एमाले) बागमती प्रदेश कमिटी, प्रचार तथा प्रकाशन विभागद्वारा सञ्चालित

च्यासल, ललितपुर, नेपाल, फोन: +९७७ ९८४१५८९४५४, इमेल: [email protected]