
काठमाडौं । धेरै मानिसहरूले आफ्नो जन्मदिन केक काटेर, भोजको आयोजना गरेर राम्रै खर्च गरी मनाउँछन् । जन्मदिनको पाटीमा राम्रै खर्च गर्छन् । खायो, पियो, रमायो । भोलिपल्ट उस्तै । उपलब्धि शून्य ।
नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य समाजसेवी रत्नप्रसाद गौतमले भने आफ्नो जन्मदिन फरक तरिकाले मनाउनु भएको छ । जन्मदिनको खर्च उहाँले उपलब्धिपूर्ण काममा गर्नुभएको छ । सुन्दर भविष्यमा लगानी गर्नुभएको छ ।
गौतमले मंगलबार आफ्नो जन्मदिनको खर्च दुर्गम गाउँका विद्यालयमा पढ्ने विद्यार्थीको न्यानो कपडामा गर्नुभएको छ । गौतमले दुईवटा विद्यालयमा पढ्ने विद्यार्थीलाई जाडोमा लगाउने ट्याक सुट वितरण गर्नुभएको छ ।

गौतमले रामेछापकाे दोरम्बा शैलुङ गाउँपालिकाको सबैभन्दा बढी चिसो हुने दुर्गम गाउँ वडानं ४ गौश्वाराका दुईवटा माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीलाई पोसाक उपलब्ध गराउनुभएको हो ।
दोरम्बा शैलुङ गाउँपालिका–४ खारपानीको खारपानी माविका १ सय ६ जना र शिवलिंगेश्वर मावि ताम्चेत १ सय ५८ जना विद्यार्थीलाई न्यानो कपडा प्रदान गरिएको एमाले रामेछापका नेता काश्मीर घिसिङले जानकारी दिनुभयो । घिसिङको नेतृत्वमा गएको टोलीले विद्यालयमा ती पोसाक वितरण गरेको थियो ।
चिसो ठाउँमा पढ्ने विद्यार्थीलाई न्यानो होस् भनी पोसाक पठाएको गौतमले बताउनुभयो । ती विद्यालयहरूले गौतमलाई सहयोगको लागि अनुरोध गरेका थिए । विद्यालयहरूको मागको आधारमा विद्यार्थीलाई पोसाक पठाएको गौतमले जानकारी दिनुभयो ।
सबै विद्यार्थीलाई पुग्ने गरी कपडा दिएको भन्दै विद्यालयहरूले खुसी व्यक्त गरेका छन् । विद्यार्थीलाई एकै खालका ट्याक सुट उपलब्ध गराइएकोले पोसाकमा एकरूपता कायम भएको विद्यालयका प्रधानाध्यापकहरुले बताउनुभयो ।
गौतमले यस अघि गत पुस ८ गते मन्थलीको मन्थली माविका १३ सय बढी विद्यार्थीलाई पनि ट्याक सुट वितरण गर्नुभएको थियो ।

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका ६ का स्थायी बासिन्दा गौतमले रामेछापबाट बिरामी परी उपचारको लागि काठमाडौँ गएका बिरामीको उपचारका लागि निरन्तर आर्थिक सहयोग गर्दै आउनुभएको छ । त्यस्तै जिल्लामा विपतमा परेकालाई पनि उहाँले सहयोग गर्दै आउनुभएको छ ।
प्रतिक्रिया