तिब्बतमा भूकम्पले पुर्‍याएको क्षति प्रति पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्वारा दुःख व्यक्त 

Bagmati

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले चीनको तिब्बतमा भूकम्पले पुर्‍याएको क्षति प्रति दुःख व्यक्त गर्नुभएको छ । 

तिब्बत केन्द्रबिन्दु भएर गएको भूकम्पले ठुलो जनधनको क्षति भएको भन्दै उहाँले दुःख व्यक्त गर्नुभएको हो । ‘मित्र राष्ट्र चीनको तिब्बत केन्द्रबिन्दु भएर आज बिहान गएको शक्तिशाली भूकम्पका कारण ठुलो सङ्ख्यामा चिनियाँ नागरिकको ज्यान जानुका साथै घाइते भएकोमा म स्तब्ध भएको छु’, भण्डारीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ । 

उहाँले चीनका राष्ट्रपति, चीन सरकार र शोकाकुल परिवार प्रति समवेदना प्रकट गर्नुभएको छ । ‘दुःखको यस घडीमा चीनका महामहिम राष्ट्रपति सी चिन फिङ, चीन सरकार र शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछु, दुःखको यस संवेदनशील घडीमा नेपाल र नेपाली जनता चिनियाँ जनताको साथमा छौँ, छोटो समयमै जनजीवनलाई सामान्य बनाउन मित्र राष्ट्र चीनलाई सफलता मिल्नेछ भन्ने मैले पूर्ण विश्वास लिएको छु’, उहाँले लेख्नु भएको छ । 

नेपाल–चीन सिमाना तिब्बतको दिंगे कान्टीमा केन्द्रबिन्दु भएर आज बिहान ६ बजेर ५० मिनेटमा ७ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पमा परी ९५ जना बढीको ज्यान गएको छ भने थुप्रै घरहरू भत्किएका छन् । भूकम्पको धक्का नेपाल र भारतमा समेत महसुस गरिएको थियो । 

नेकपा (एमाले) बागमती प्रदेश कमिटी, प्रचार तथा प्रकाशन विभागद्वारा सञ्चालित

च्यासल, ललितपुर, नेपाल, फोन: +९७७ ९८४१५८९४५४, इमेल: [email protected]