काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले भित्र कुनै गुट र समूह नरहेको बताउनुभएको छ ।
एमालेको केन्द्रीय कमिटीको आठौँ बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलपछि समापन सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र अब कोही पनि पूर्व माले, पूर्व माओवादी वा १० बुँदेजस्ता समूह नरहेका स्पष्ट पार्नुभयो । ‘एमालेमा अब कुनै पनि पूर्व समूहहरू छैन, हामीले पूर्व समूह खोज्नतिर होइन वर्तमानको एमाले खोजौँ, भरभराउँदो आजको एमाले खोजौँ’, उहाँले भन्नुभयो ।
ओलीले एमाले यथास्थितिवादी शक्ति नभएको बताउँदै एमाले क्रान्तिकारी र परिवर्तनशील शक्ति भएको बताउनुभयो । ‘हाम्रो लक्ष्य समाजवाद हो, समृद्ध नेपाल, सुखी नेपाली हो, हामीमाथि भएका आन्तरिक र बाह्य घेराबन्दीविरुद्ध एक भएर लड्दै हामीले मुलुक र देशको हितमा प्रभावकारी काम गर्न सक्नुपर्छ’, उहाँले भन्नुभयो ।
अध्यक्ष ओलीले विगतमा एकीकृत पार्टीलाई विभाजित गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालहरू लागेको उल्लेख गर्दै उहाँले आलोचनाका विषय पार्टीभित्र राख्न सकिने तर लोकतन्त्रका नाममा पार्टीलाई ध्वस्त बनाउने खालको गुटबन्दी र अराजकता स्वीकार्य नहुने स्पष्ट पार्नुभयो । मुलुकलाई स्थायित्व र समृद्धिको लक्ष्यसहित एमाले र काँग्रेससहितको वर्तमान सरकारको तर्फबाट गर्नुपर्ने कामहरू सक्दो गर्दै जाने विश्वास दिलाउँदै उहाँले आफूहरू चुनावदेखि चुनावसम्म र केवल सत्ता–यात्रामा नरहेकाले समाजवादको लक्ष्य र गन्तव्यलाई ध्यानमा राखेर काम गरिरहेको स्पष्ट गर्नुभयो ।
ओलीले पार्टीका नेता–कार्यकर्ताहरूलाई सामाजिक सञ्जालको उपयोग बढाउन र भएका राम्रा कामको व्यापक प्रचार गर्न पनि आव्हान गर्नुभयो । उहाँले असंलग्न परराष्ट्र नीति र सन्तुलित छिमेक सम्बन्धको नीतिमा सदैव स्पष्ट रहेको स्मरण गराउँदै छिमेकीका विकासबाट नेपालले लाभ लिने बताउनुभयो । उहाँले नेपालको राजनीतिक नक्सामा सामेल भएको नेपाली भूमि फिर्ता गराएर छाडिने अठोट पनि व्यक्त गर्नुभयो ।
यही पुस २१ गतेदेखि सुरु भएको एमालेको केन्द्रीय कमिटीको बैठक राजनीतिक प्रतिवेदन र सङ्गठन सुधारका योजना तथा समसामयिक प्रस्तावहरू पारित गर्दै आज सकिएको छ ।
प्रतिक्रिया