काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली खेलाडीलाई हरेक खेल हिम्मतका साथ खेल्न आग्रह गर्नुभएको छ ।
युवा तथा खेलकुद मन्त्रालयद्वारा मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले खेल जित्न सकिन्छ भन्ने उच्च मनोबल लिएर प्रतियोगितामा लाग्न खेलाडीलाई आग्रह गर्नुभयो । उहाँले खेलमा टिम स्पिरिट र कम्बिनेसन महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले नेपाली खेलको सर्वत्र उन्नति र प्रगति होस् भन्ने कामना गर्दै त्यसका लागि लाग्न खेलाडी र खेल क्षेत्रका अधिकारीलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल सरकार मन्त्रिपरिषद्को गत मङ्सिर २८ गतेको निर्णयबमोजिम तोकिएको मापदण्डका आधारमा पुरस्कार प्रदान गरिएको हो । प्रधानमन्त्री ओलीको निर्देशनपछि खेल क्षेत्रमा दिइने पुरस्कारमा कर छुट हुँदै आएको छ ।
कार्यक्रममा साफ महिला फुटबल, एसियाली कराँते र कावा बिच भलिबल खेलमा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूलाई सम्मान र पुरस्कार प्रदान गरिएको छ ।
गत कात्तिक १ गतेदेखि १४ गतेसम्म काठमाडौँमा भएको साफ वुमन च्याम्पियनसिप, फुटबलमा पदक विजेता अमृता जैसी, मुख्य प्रशिक्षक राजेन्द्र तामाङ र व्यवस्थापक वृन्दा देवान लगायत तथा चीनको हाइजाओमा गत असोज १ गतेदेखि ७ गतेसम्म भएको बिसौँ एसियाली कराँते च्याम्पियनसिप पदक विजेता एरिका गुरुङ, मुख्य प्रशिक्षक कुशल श्रेष्ठलगायतलाई पुरस्कार प्रदान गरिएको छ ।
यस्तै गत साउन १७ गतेदेखि २० गतेसम्म भुटानको थिम्पुमा भएको कावा बिच महिला तथा पुरुष भलिबल प्रतियोगितामा विजेता कमला पुन, मनिषकुमारी चौधरी, प्रशिक्षक रुपेशकुमार विष्टलाई पुरस्कार प्रदान गरिएको छ ।
कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले अन्तर्राष्ट्रिय प्रतियोगितामा विजेता भई पुरस्कार दिन बाँकी अन्य खेलाडीहरूको विवरण चाँडो पठाइदिन सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया