
काठमाडौं, भदौ ३ । नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटीको प्रथम प्रतिनिधि परिषद् बैठक मंगलबार मेलम्चीमा सम्पन्न भएको छ । पार्टी जिल्ला कमिटी अध्यक्ष होमनारायण श्रेष्ठको अध्यक्षता तथा केन्द्रीय महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले जिल्लाको समग्र विकास, विपद् व्यवस्थापन, सामाजिक न्याय, युवाको भविष्य, भ्रष्टाचारविरुद्धको अभियान र पार्टी संगठन सुदृढीकरणका विषयमा विभिन्न निर्णय गर्दै १० बुँदे घोषणा सार्वजनिक गरेको छ ।
बैठकले जिल्लामा आन्तरिक पार्टी एकतालाई मजबुत पार्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने राष्ट्रिय लक्ष्यलाई पूरा गर्ने साझा सङ्कल्प व्यक्त गरेको छ । यसै क्रममा मिसन २०८४ अन्तर्गत हुने सबै तहका निर्वाचनमा विजयी बन्ने प्रतिबद्धता समेत बैठकले जाहेर गरेको छ ।
सिन्धुपाल्चोक जिल्लामा विगतमा घटेका बाढी, भूकम्प र अन्य प्राकृतिक विपद्ले ठुलो धनजनको क्षति पुर्याएको स्मरण गर्दै बैठकले कोदारी नाका सञ्चालनमा ल्याउन, अवरुद्ध सडक तत्काल मर्मत तथा पुनर्निर्माण गर्न, अरनिको राजमार्ग स्तरोन्नति गर्न, मेलम्ची र इन्द्रावती बाढीले क्षति पुर्याएका बाटोघाटो, पुल, निजी घर तथा खेतयोग्य जमिन पुनःस्थापना गर्न नेपाल सरकारसँग जोडदार आग्रह गरेको छ ।
बैठकले किसानलाई अझै पनि गाँजिरहेको गुठी समस्याको समाधानका लागि आवश्यक कानुन बनाउन सरकारसँग माग गरेको छ । गुठीका नाममा हुने शोषण अन्त्य गरी किसानलाई आधुनिक कृषि प्रणालीमा सहभागी गराउने नीति लिनुपर्ने बैठकको ठहर छ ।

महिला, दलित लगायत सामन्ती उत्पीडन भोगिरहेका समुदायमाथि अझै पनि विभिन्न किसिमका हिंसा जारी रहेकोप्रति बैठकले गम्भीर चासो प्रकट गरेको छ । भोटेकोसी गाउँपालिका–६ मा भएको बलात्कारपछि हत्या वा दलितहरूमाथि भइरहेको छुवाछुतजस्ता घटनालाई लोकतान्त्रिक गणतन्त्रमा अस्वीकार्य भन्दै बैठकले यस्ता घटनाको अन्त्य गर्न राज्यका सबै अङ्ग र समाजका सचेत वर्गलाई आह्वान गरेको छ ।
जिल्लाका युवाहरू रोजगारीको अभावमा राजधानी र विदेश पलायन भइरहेका घटनाबारे बैठकले चिन्ता व्यक्त गरेको छ । बैठकले ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्ने ठोस योजना नेपाल सरकारले ल्याउनुपर्नेमा जोड दिँदै, युवा शक्ति र सृजनशील ऊर्जा राष्ट्र निर्माणमा सदुपयोग गर्न आवश्यक नीति निर्माण गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
बैठकले भ्रष्टाचारमा संलग्न र निलम्बित व्यक्तिहरू खुलेआम सरकारी कार्यक्रममा सहभागी भई सम्मान पाउन थालेको प्रचलनप्रति गम्भीर आपत्ति जनाएको छ । यसरी भ्रष्टाचारलाई अनुमोदन गर्ने कार्य निन्दनीय भएको ठहर गर्दै बैठकले यस्ता व्यक्तिहरूमाथि सामाजिक बहिष्कार गर्नुपर्ने निष्कर्ष निकालेको छ । यस अभियानलाई सफल बनाउन नागरिक समाज, राजनीतिक दल र सचेत समुदायलाई ऐक्यबद्धता प्रकट गर्न बैठकले आह्वान गरेको छ ।
जिल्ला जलविद्युत उत्पादनको विशाल सम्भावना बोकेको भए पनि त्यहाँका बासिन्दाले प्रत्यक्ष लाभ पाउन नसकेको तर्फ बैठकले ध्यानाकर्षण गराउँदै, स्थानीयवासीलाई निःशुल्क विद्युत् सुविधा दिनुपर्ने माग अघि सारेको छ । यससँगै मेलम्ची खानेपानी आयोजना राजधानी काठमाडौँलाई पानी आपूर्ति गर्ने महत्त्वपूर्ण योजना भएकाले आयोजना क्षेत्रमा सडक निर्माण, सामाजिक उत्थान कार्यक्रम सञ्चालन र मेलम्ची, याङ्री तथा लार्केबाट काठमाडौँमा पानी पथान्तरण हुँदा प्रभावित क्षेत्रको विकासका लागि विशेष लेभी निर्धारण गर्नुपर्ने माग पनि बैठकले गरेको छ ।
भौगोलिक रूपमा विविध अवस्थासहितको सिन्धुपाल्चोक जिल्लामा प्रशासनिक सेवा प्राप्त गर्न अझै पनि स्थानीयवासीले कठिनाइ बेहोर्नु परिरहेको भन्दै बैठकले मेलम्ची र बाह्रबिसेमा मालपोत तथा नापी कार्यालयसहितको इलाका प्रशासन कार्यालय स्थापना गर्न सरकारलाई जोडदार माग गरेको छ ।
त्यसै गरी जिल्लाको समग्र विकासको आधार बन्न सक्ने सुनकोसी–३ जलाशय आयोजना एमालेकै नेतृत्वमा सन् २०७३ सालमा अघि बढाइएको स्मरण गर्दै बैठकले साे आयोजनालाई तत्काल निर्माण चरणमा लैजान सरकारसँग माग गरेको छ ।
बैठकमा बोल्दै पार्टी महासचिव शंकर पोखरेलले एमालेलाई कमजोर पार्ने विभिन्न प्रयास भइरहेकामा चिन्ता व्यक्त गर्दै नेता-कार्यकर्तालाई संगठनलाई सुदृढ र एकताबद्ध बनाउन आह्वान गर्नुभयो । उहाँले ७० वर्षभन्दा माथिका नेताले नेतृत्व लिन नहुने भन्ने भ्रम चिर्नुपर्ने धारणा राख्दै अनुभव र क्षमताका आधारमा नेतृत्वको मूल्याङ्कन हुनुपर्नेमा जोड दिनुभयो ।
बैठकमा नेकपा एमाले स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज राजन भट्टराई, स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, पोलिटब्युरो सदस्य अरुण नेपाल, वाग्मती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल, प्रदेश उपसचिव भक्तकुमारी लामा, पार्टी केन्द्रीय अनुशासन आयोगका सदस्य डम्बर अर्याल, केन्द्रीय निर्वाचन आयोग सदस्य अमानसिं तामाङ लगायतले विचार राख्नुभएको थियो । सोबारे जानकारी पार्टी जिल्ला कमिटी सचिव कृष्णगोपाल तामाङले दिनुभएको हो ।
प्रतिक्रिया