युवाले देश बनाउने सङ्कल्प गर्नुपर्दछ : प्रधानमन्त्री केपी ओली 

Bagmati

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी ओलीले लोकतन्त्र दिवस नेपालीको ठुलो चाड र खुसीको दिन भएको बताउनुभएको छ । 

लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृकुटीमण्डपमा नेकपा एमालेले आयोजना गरेको यूथ सेलिब्रेसन कार्यक्रममा बोल्दै ओलीले बैशाख ११ निरङ्कुशता पराजय र लोकतन्त्रले जितेको दिन भएको बताउनुभयो । त्यसैले यो दिनलाई उत्सवको रूपमा मनाउनु पर्ने उहाँको धारणा छ । 

निरङ्कुश व्यवस्थाको कारण देश लामो समय अन्धकारकारको युगमा गुज्रिएको उहाँले बताउनुभयो । त्यसका विरुद्ध अनेक कठिनाइ झेलेर सङ्घर्ष गर्दै देशलाई अहिलेको अवस्थामा ल्याएको ओलीले सुनाउनुभयो । अब देश युवाले बनाउनु पर्ने उहाँको भनाइ छ । 

अहिले जनताको बलिदान र सङ्घर्षको अपमाना गर्ने र मजाक उडाने काम केही व्यक्ति र समूहले गरेका उहाँले बताउनुभयो । सामन्ती व्यवस्थालाई पुन फर्काउने भन्दै व्यक्तिका घर, पार्टी कार्यालय र सञ्चार संस्थामा तोडफोड गर्ने र व्यक्तिलाई जिउँदै आगो लगाउने काम गरिएको ओलीले सुनाउनुभयो । ‘जङ्गली मात्र होइन राक्षसी प्रवृत्ति देखाउनेहरूले कस्तो शासन गर्न खोजेका छन् भन्ने प्रष्ट भएको छ’, ओलीले भन्नुभयो । 

आज युवालाई भड्काउने अनेक प्रयास भइरहेका उहाँले बताउनुभयो । केही मानिसहरूलाई सामाजिक सञ्जालमा प्रयोग गरेर देश भरका मानिसलाई भड्काउने प्रयास भएका भन्दै उहाँले यसमा सचेत हुनु पर्ने बताउनुभयो । 

यी सबै कुरालाई बुझेर युवा सही बाटोमा अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो । ‘अबको समय देशमा युवाको समय हो’, ओलीले भन्नुभयो । 

लोकतन्त्रमा पनि केही गलत प्रवृत्ति देखाएका बताउँदै उहाँले त्यसबाट देश केही समय अलमलमा परेको बताउनुभयो । अब भ्रममा होइन स्पष्ट दृष्टिकोणका साथ देश अघि बढ्नु पर्नेमा ओलीले जोड दिनुभयो । 

ओलीले प्राप्त उपलब्धिको रक्षा गर्दै युवा अघि बढ्नु पर्ने बताउनुभयो । ‘युवाले देश बनाउने सङ्कल्प गर्नुपर्दछ, सङ्कल्पलाई साकार पार्नुपर्दछ’, उहाँले भन्नुभयो । 

एमालेको राष्ट्रवादी अडान र दृष्टिकोणको कारणले राष्ट्र विरोधी तत्त्वहरू एमाले विरुद्ध खनिएका उहाँले बताउनुभयो । त्यस्ता शक्तिले एमाले विरुद्ध हरेक दिन भ्रम फिँजाउने गरेको उहाँको भनाइ छ । 

नेकपा एमाले र कांग्रेसको सरकार देशमा स्थिरता दिने गरी एउटा लक्षका साथ बनेको उहाँले बताउनुभयो । सरकार तिर होइन चुनाव तिर ध्यान दिन उहाँले आग्रह गर्नुभयो । एमालेका युवालाई मिसन २०८४ मा ध्यान दिन उहाँले आग्रह गर्नुभयो । 

मिसन २०८४ नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने मिसन भएको उहाँले बताउनुभयो । सोही अभियान मार्फत देश बन्ने र बनाउने उहाँले दाबी गर्नुभयो । 

देशमा अराजकता मच्चाउने र विभाजन गर्ने तत्त्वसँग सचेत हुन पनि उहाँले आग्रह गर्नुभयो । समाजलाई विभाजन गर्ने तत्त्वसँग सचेत भएर अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो । ‘नेपाल महान् नेपाल हो, नेपाली जनता महान् जनता हुन्, महान् नेपालका नेपाली युवा त्यस अनुसार अघि बढ्ने छन्, यसको नेतृत्व नेकपा एमालेले बाटो नबिराई गर्ने छ, गर्न सक्छ’, ओलीले भन्नुभयो । 

नेकपा (एमाले) बागमती प्रदेश कमिटी, प्रचार तथा प्रकाशन विभागद्वारा सञ्चालित

च्यासल, ललितपुर, नेपाल, फोन: +९७७ ९८४१५८९४५४, इमेल: [email protected]