
काठमाडौं । नेकपा एमाले बैशाख ११ गते लोकतन्त्र दिवसको अवसरमा भृकुटी मण्डपमा आयोजना गर्ने जनताले जितेको दिन युवा सेलिब्रेसन कार्यक्रमको तयारीमा राष्ट्रिय युवा संघ नेपाल युद्धस्तरमा जुटेको छ ।
कार्यक्रमको तयारी करिब अन्तिम चरणमा पुगेको राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले जानकारी दिनुभयो । उहाँले लोकतन्त्र दिवसलाई युवा महोत्सवको रूपमा मनाउन लागिएको र सोही अनुसारको तयारी भइरहेको बताउनुभयो । ‘यो कार्यक्रममा देश भरीका युवा सहभागी हुनुहुने छ, उपत्यका र वाग्मती प्रदेशबाट युवाको विशेष उपस्थिति हुने छ, हामीले एक लाख युवा उपस्थित गराउने योजना बनाएका छौँ’, थेबेले भन्नुभयो ।
जहानीया राजतन्त्रको अन्त्य र लोकतन्त्र उदय भएको दिनलाई नेपालीको विजय भएको दिनका रूपमा कार्यक्रम गर्न लागिएको उहाँले बताउनुभयो । ‘अहिले नेपालको जनसङ्ख्यालाई हेर्दा १ करोड ३६ लाख बढी युवाको जनसङ्ख्या छ, लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै हो भन्ने युवाको आवाज मुखरित गर्न युवा सहभागितालाई जोड दिइएको हो’, उहाँले भन्नुभयो ।
बैशाख ११ लाई युवाले देश निर्माणको सङ्कल्प गर्ने दिनको रूपमा लिएको उहाँले बताउनुभयो । ‘देश निर्माण अब युवाले नै गर्छौँ, देश निर्माणको अभिभारा नेपाली युवाको हो, देश निर्माणको अभिभारा लिने सङ्कल्प गर्ने दिनको रूपमा बैशाख ११ लाई हामीले लिएका छौँ’, उहाँले भन्नुभयो ।
यतिबेला देशको सबैभन्दा ठुलो समस्या बेरोजगारी भएको बताउँदै थेबेले बेरोजगारीको अन्त्यको लागि उद्यमशीलताको सुरुवात गर्नुपर्ने र त्यो पनि युवाले नै सुरु गर्नुपर्ने बताउनुभयो । ‘आत्मनिर्भर बन्नु छ, उद्यमी बन्नुपर्छ, स्वरोजगार बन्नुपर्छ, यो हामी आफैँले गर्नुपर्छ, अरू कसैले आएर दिँदैन, बैशाख ११ युवा उद्यमी बन्ने प्रण गर्ने दिन पनि हो’, थेबेले भन्नुभयो ।
युवा उद्यमी विकास, भ्रष्टाचार निवारण, सुशासन, गुणस्तरीय शिक्षा, स्वास्थ्य, व्यवस्थित आवासको निमित्त युवाले सङ्कल्प गर्ने बैशाख ११ को भेला भएको उहाँले बताउनुभयो । बैशाख ११ लाई नयाँ इभेण्टको टर्निङका रूपमा लिइएको थेबेको भनाइ छ । ‘यसलाई हामीले उत्सवमय बनाउँदै छौँ, भृकुटीमण्डपको प्रदर्शनी स्थलमा हामी उत्सवमय स्टलहरू निर्माण गर्दै छौँ, विभिन्न खालका गीत, प्रस्तुति, कन्सर्ट, नयाँ युवाको प्रस्तुति, मञ्चमा युवालाई स्थान दिएर युवामय कार्यक्रम गर्छौँ, यो देश युवाहरूको हो भन्ने आवाज स्थापित गर्ने इभेन्ट हो यो’, उहाँले भन्नुभयो ।
सङ्ख्यात्मक रूपमा हेर्दा १ लाख मानिसको उपस्थित ठुलो लागे पनि समग्र युवाको नेतृत्व गरिरहेको राष्ट्रिय युवा संघ नेपाललाई एक करोड युवाको एक प्रतिशत अर्थात् एक लाख युवा उतार्न कुनै ठुलो कुरा नभएको उहाँका भनाइ छ । ११ गते उपस्थित हुने युवा एमाले र त्यसका जनसंगठनका युवा मात्रै हुने पनि उहाँले प्रष्ट पार्नुभयो । आम युवालाई आह्वान गर्ने हो भने यो सङ्ख्या धेरै ठुलो हुने उहाँको दाबी छ । ‘हाम्रा युवा साथी मात्रै सङ्कल्पको लागि उपस्थित हुँदा पनि एक लाख पुग्छौँ, सङ्ख्यामा कुनै समस्या छैन, यसलाई कसरी व्यवस्थित गर्ने भनेर मात्र हामीले सोचिरहेका छौँ’, उहाँले भन्नुभयो ।
कार्यक्रम स्थल पुरै युवामय र युवामैत्री हुने उहाँले बताउनुभयो । कार्यक्रमबाट फर्कँदा युवाले एउटा नयाँ सन्देश लिएर फर्कने थेबेको दाबी छ ।
प्रतिक्रिया