
रामेछाप । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा पुष्पलाल जन्मिएको जिल्ला रामेछापमा पुष्पलाल प्रति सम्मान र चियापान कार्यक्रम आयोजना गरिएको छ ।
मन्थलीको सहिद गंगालाल, पुष्पलाल र साहित्यका सहिद कृष्णलालको सालिक रहेको तीनलाल पार्कमा कम्युनिष्ट नेताहरू भेला भएर उहाँहरुकाे प्रतिमामा पुष्पगुच्छा चढाइ सम्मान प्रकट गर्नुभएकाे हाे। कार्यक्रममा नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य एवं वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठ, प्रदेश कमिटी सदस्य एवं मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ, प्रदेश कमिटी सदस्य एवं भूमि आयोग रामेछापकी सदस्य गंगा कार्की, प्रदेश कमिटीका नेता ध्रुव कार्की, रामेछाप जिल्ला कमिटी उपाध्यक्ष होतराज ढकाल, सचिव प्रकाशकुमार कार्की, उपसचिव मिलनकुमा घिसिङ, जिल्ला कमिटीका नेताहरू, पालिका कमिटीका नेताहरू, जनप्रतिनिधि तथा जनसंगठनका नेताहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै वाग्मती प्रदेश उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्द श्रेष्ठले नेपालमा कम्युनिष्ट पार्टीको स्थापना महत्त्वपूर्ण क्षण भएको बताउनुभयाे। पुष्पलाल जन्मिएको जिल्ला भएको कारणले पनि रामेछापले यसमा अझ गर्व गर्नु पर्ने उहाँको धारणा छ ।पाँच जनाले स्थापना गरेको नेपाल कम्युनिष्ट पार्टी आज लाखौँ नागरिकको भरोसाको केन्द्र बनेको उहाँले बताउनुभयाे ।
२२ अप्रिल १९४९ का दिन पुष्पलाल श्रेष्ठको नेतृत्वमा निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ संस्थापक रहेर भारत कोलकाताको श्यामबजार इलाका २८, नवीन सरकार लेनस्थित एक घरको दोस्रो तल्लामा नेकपाको स्थापना गरिएको थियो । त्यसकै स्मृतिमा २२ अप्रिलमा नेकपाको स्थापना दिवस मनाउने गरिन्छ ।
नेकपाका संस्थापक पुष्पलालको जन्म रामेछापको भँगेरीमा भएको थियो । उनका पिता रामेछापमा जागिरमा रहेको बेला सहिद गंगालाल र पुष्पलाल दुवैको जन्म भँगेरीमा भएको हो ।
प्रतिक्रिया