बैशाख ११ गते लाेकतन्त्रकाे खुसीयाली साटासाट गर्ने कार्यक्रम : भानुभक्त ढकाल

Bagmati

काठमाडाैं । नेकपा एमालेले बैशाख ११ गते लोकतन्त्र दिवसको अवसरमा आयोजना गर्न लागेको नेपाली जनताले जितेको दिन युवा सेलिब्रेसन कुनै प्रदर्शन नभई उत्सवको रूपमा मनाउन लागेको जनाएको छ । 

नेकपा एमाले जनसंगठन समन्वय प्रमुख भानुभक्त ढकालले सो दिनलाई जनताले जितेको दिन भएकोले उत्सवको रूपमा मनाउन लागिएको स्पष्ट पार्नुभयो । ‘बैशाख ११ गते लोकतन्त्रले जितेको दिन, जनताले खुसी मनाएको दिन र सदियौँ वर्षदेखिको निरङ्कुशता अन्त्य गरेर आफ्नो संविधान आफैँ बनाउने, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने मार्गप्रसस्त गरेको दिनलाई युवा सेलिब्रेसनको कार्यक्रमका रूपमा मनाउन लागिएको हो’, ढकालले भन्नुभयो । 

सो कार्यक्रम मूलतः ४० वर्षसम्मका युवा युवतीलाई लक्षित गरी आयोजना गरिएको उहाँले बताउनुभयो । ‘आन्दोलनबाट प्राप्त भएका उपलब्धिलाई नयाँ पुस्ताले आत्मसाथ गर्ने, त्यसका पक्षका बारे जानकारी लिने तथा समृद्ध नेपाल, सुखी नेपाली बनाउने सन्दर्भमा युवाको सोच र जाँगरलाई कसरी अहिलेको अवस्थामा स्थान दिन सकिन्छ, देश रूपान्तरणमा युवालाई कसरी संलग्न गराउन सकिन्छ भन्ने विषयमा बहस गर्न र भावी नेतृत्वको रूपमा युवालाई विकास गर्नका निम्ति देश भरीबाट युवाको प्रतिनिधित्व गराएर कार्यक्रम गर्ने भनेका छौँ’, उहाँले भन्नुभयो । 

कार्यक्रमको तयारीमा मूलतः युवाहरू नै लागेका ढकालले जानकारी दिनुभयो । त्यसको लागि पार्टीले सहयोग गरिरहेको उहाँले बताउनुभयो । देश भरिका ७७ वटै जिल्ला, सबै पालिका र वडाबाट युवाको प्रतिनिधित्व गराउने गरी कार्यक्रमको डिजाइन गरिएको ढकालले जानकारी दिनुभयो । कार्यक्रममा लागि पार्टीका नेताहरू, जनसंगठन, जनप्रतिनिधि, नागरिक अगुवा लगायतको उपस्थितिको अपेक्षा गरिएको उहाँले बताउनुभयो । 

कार्यक्रममा लोकतन्त्र प्राप्तिका लागि भएका बलिदान, युवाहरूले अनुभूत गरेको विषयवस्तुहरू समेत राखिने उहाँले जानकारी दिनुभयो । ‘नेतृत्वका तर्फबाट यो व्यवस्था कसरी आयो भन्ने कुरा राखिने छ, यो कार्यक्रमलाई आमभाषणको कार्यक्रम भन्दा फरक रूपमा आयोजना गरिने छ, यो खुसीयाली साटासाट गर्ने कार्यक्रम भएकोले थोरै मन्तव्य धेरै खुसीयाली साटासाटको कार्यक्रम हुने छ’, ढकालले भन्नुभयो । 

‘यो सडक आन्दोलन होइन, कुनै शक्ति प्रदर्शन पनि होइन, कुनै विषयका लागि दबाब दिन गर्न लागिएको प्रदर्शन पनि होइन, यसलाई रचनात्मक ढङ्गले युवाहरूको संलग्नतामा, लोकतन्त्र प्राप्तिको खुसीयाली साटासाट गर्ने कार्यक्रम हो, युवाको सहभागिता र गतिविधिले समाजमा उठेका नकारात्मक कुरलाई एकमुष्ट रूपमा जवाफ दिनको लागि यसले सहयोग पुग्ने छ’, उहाँले भन्नुभयो ।  

नेकपा (एमाले) बागमती प्रदेश कमिटी, प्रचार तथा प्रकाशन विभागद्वारा सञ्चालित

च्यासल, ललितपुर, नेपाल, फोन: +९७७ ९८४१५८९४५४, इमेल: [email protected]