
काठमाडौं । नेकपा एमाले वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले संविधान र व्यवस्था रक्षाका लाग गणतन्त्रवादी शक्तिहरू एक ठाउँमा उभिनु पर्ने बताउनुभएको छ ।
नेकपा एमाले मन्थली नगर सम्पर्क मञ्चले मंगलबार आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान प्रदान तथा क्यालेन्डर लोकार्पण कार्यक्रममा बोल्दै ढुङ्गेलले राजावादी शक्तिको प्रयासलाई निस्तेज पार्न पनि गणतन्त्रवादीहरू दह्रोसँग उभिनु पर्ने बताउनुभयो । ‘गणतन्त्रवादीहरूको शक्ति पल्लाभारी हुने कि, राजतन्त्रवादीहरू चम्किने भन्ने अवस्था अहिले सिर्जना भएको छ, अब गणतन्त्रको पक्षमा हामी छौँ भनेर दह्रोसँग उभिनु परेन ? गणतन्त्रको रक्षा गर्ने काम हाम्रो काँधमा आएको छ’, उहाँले भन्नुभयो ।
ढुङ्गेलले आज केही भएन भन्नेलाई हिजो फर्किएर हेर्न आग्रह गर्नुभयो । हिजो भोटा लगाएर नुन बोक्न चिसापानी गोदार भोट पुगेको पुस्ता अहिले पनि जीवित नै रहेको ढुङ्गेलले सुनाउनुभयो । ‘भोटो लगाएर नुन बोक्न जाँदा त्यही भिजेको भोटो सुकाएर टकटक्याउँदै हाम्रै बाहरुले लगाएर हिँडेको होइन र ? मेरा बासँग त्यही एउटै भोटो थियो, भिजे पनि त्यही सुकायो, लगायो गर्नुहुन्थ्यो, आज त्यो अवस्थाबाट कसले मुक्त गरायो ? राजाले हो ?’, उहाँले प्रश्न गर्नुभयो ।
ढुङ्गेलले इतिहास जान्नेले लेख्नु पर्ने बताउँदै नजानेकाले सोध्नु पर्ने बताउनुभयो । पढ्नको लागि भारत जानु पर्ने युगबाट गाउँमा नै कलेज सञ्चालन हुने युग बहुदलले नै ल्याएको उहाँले स्पष्ट पार्नुभयो । जङ्गबहादुरले भारत र युरोपसँग सम्झौता गरेर नेपाली युवालाई विदेश पठाएको इतिहासलाई पनि नबिर्सन उहाँले आग्रह गर्नुभयो ।

अहिले पनि समाजलाई अघि बढ्न नदिन केही व्यक्ति र शक्ति लागिरहेको उहाँले बताउनुभयो । नेपालमा मेडिकल कलेज खोल्नु पर्छ भन्दा हुँदैन बङ्गलादेश पठाउनु पर्छ भन्ने गोविन्द केसीजस्ता विद्वान पनि यही समाजमा रहेका उहाँले सुनाउनुभयो । फेरी पञ्चायत नै फर्काउनु पर्छ भनेर राजाको आन्दोलनको नेतृत्व गर्ने पूर्वपञ्च नवराज सुवेदी पनि रामेछापकै भएका ढुङ्गेलले स्मरण गराउनुभयो ।
सम्पर्क मञ्चका अध्यक्ष अरुण अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य एवं मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ, प्रदेश कमिटी सदस्य एवं खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ, वाग्मती प्रदेश सम्पर्क कमिटी अध्यक्ष अशोककुमार ठकुरी, पार्टी नेता प्रकाश श्रेष्ठ, जिल्ला कमिटी सदस्य एवं प्रचार विभाग प्रमुख राकेश श्रेष्ठ, जिल्ला कमिटी सदस्य भीमबहादुर श्रेष्ठ, नेताहरू राजेन्द्र श्रेष्ठ, नारायण बाबु कार्की, बद्रीकुमार भण्डारी, दिवस कार्की, राजन आरण, जिल्ला सम्पर्क मञ्च अध्यक्ष प्रमोद भण्डारी रवीन्द्र , उपाध्यक्ष अम्बिका बोहरा भण्डारी र दिलीप श्रेष्ठ, सचिव नीराजन तिमल्सिना, रमेश खड्का कोषाध्यक्ष नवराज पाण्डे नगर तथा पालिका सम्पर्क मञ्चका नेताहरू लगायतका सहभागिता थियो ।
प्रतिक्रिया