तीनकुने घटनाका जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र, बाँकी मतियार : शङ्कर पाेखरेल 

Bagmati

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्रले २०६३ सालमा गणतन्त्रका पक्षधर राजनीतिक दलसँग गरेको सम्झौता तोडेका बताउनुभएको छ । 

बुधबार सुनसरीको इटहरीमा आयोजित एमालेको जागरण सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले पूर्वराजा ज्ञानेन्द्रका पछिल्ला अभिव्यक्ति र गतिविधि सो सम्झौता विपरीत भएका बताउनुभयो । पूर्व राजा ज्ञानेन्द्र अहिलेको अस्थिरताको कारक बनेका पोखरेलको धारणा छ । ‘शान्तिपूर्ण ढङ्गले नेपालमा नै बस्न पाउँ भनेर जुन माग गरेका थिए, उनले व्यवस्थाको विरुद्ध, संविधानको विरुद्ध, जनताको आन्दोलनका विरुद्ध, जनआकांक्षका विरुद्ध जुन अभिव्यक्ति दिएका छन् त्यो नेपाली जनताका लागि स्विकारे छैन’, पोखरेले भन्नुभयो । 

गएको चैत १५ गते जुन घटना घट्यो, त्यसको जिम्मेवार अरू कोही नभएर पूर्वराजा ज्ञानेन्द्र नै भएका उहाँले बताउनुभयो । ‘मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र नै हुन्, अरू त उनका मतियार मात्र हुन्, सुण्डमुसुण्ड मात्रे हुन्’, उहाँले भन्नुभयो । 

सो घटनाको सूत्रधार खलनायक दुर्गा प्रसाईँ र त्यसका आयोजक नवराज सुवेदी, धवलसमशेर राणा भएका उहाँले बताउनुभयो । दुर्गा प्रसाईँ जस्तो नालायक व्यक्तिलाई कमाण्डरको जिम्मा दिने पूर्वराजा नै त्यसको योजनाकार भएकाले यसको सबै जिम्मा उनले नै लिनु पर्ने उहाँको धारणा छ । बङ्गलादेशमा जस्तै लुटपाट मच्चाउँदै व्यवस्था उल्टाउन सकिन्छ भनेर पूर्वराजा ज्ञानेन्द्रले सो वितण्डा मच्चाउन लगाएका पोखरेलको भनाइ छ । 

पूर्वराजा ज्ञानेन्द्र कस्ता व्यक्ति हुन् भन्ने कुरा इतिहासले नै प्रमाणित गरिसकेको पोखरेलले बताउनुभयो । पूर्वराजा लागु औषध र पुराना मूर्ति तस्करीमा संलग्न व्यक्ति भएका उहाँले सुनाउनुभयो । 

तत्कालीन राजा वीरेन्द्र पनि ज्ञानेन्द्रकै योजनामा मारिएका भनेर नेपाली जनताले प्रश्न उठाइरहेका उहाँले बताउनुभयो । मरिसकेका युवराज दीपेन्द्रलाई राजा घोषणा गरेर ज्ञानेन्द्रले नाटक गरेको उहाँले सुनाउनुभयो । छोरामा सरिसकेको राजा फेरी काकामा फर्काएर तत्कालीन राजतन्त्रको परम्परा विपरीत ज्ञानेन्द्र राजा बनेका उहाँको भनाइ छ । 

पूर्वराजा ज्ञानेन्द्र संवैधानिक राजा बन्ने चरित्रका मानिस नै नभएका उहाँले बताउनुभयो । त्यसैले पूर्वराजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएका उहाँले स्पष्ट पार्नुभयो । त्यसैले उनकै व्यवहारका कारण नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना भएको पोखरेलले दाबी गर्नुभयो । 

नेपालमा सडकबाट मात्र गणतन्त्र नआएको पनि उहाँले स्पष्ट पार्नुभयो । नेपालको संविधान सभाले सर्वसम्मतको आधारमा राजतन्त्रको अन्त्य गरी मुलुकलाई गणतन्त्रमा लगेको उहाँले स्पष्ट पार्नुभयो । 

अब कसैले संविधान माथि चुनौती दिन चाहन्छ भने जनताको बिचमा गएर दुईतिहाई बहुमत ल्याई संविधान परिवर्तन गर्न उहाँले राजावादीलाई चुनौती दिनुभयो । अरू कुनै पनि उपायबाट संविधान परिवर्तन गर्न नसकिने उहाँले स्पष्ट पार्नुभयो । 

गणतन्त्र आएपछि केही भएन भन्नेलाई राजाको पालामा भएका विकास र गणतन्त्रमा भएको विकासका कामलाई तुलना गरेर हेर्न उहाँले आग्रह गर्नुभयो । सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार, विद्युत्, सञ्चार, प्रविधि, आर्थिक, सामाजिक विकास सबैलाई तुलना गरेर हर्न उहाँको आग्रह छ । 

गणतन्त्रको रक्षका लागि गणतन्त्रका पक्षधर हरेक नागरिक यी तथ्यका बारेमा बोल्नु पर्ने पोखरेलले बाउनुभयो । हरेका टोल, बस्ती र चोकमा यी कुरा उठाउनु पर्ने उहाँको धारणा छ । 

लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुने बताउँदै उहाँले लोकतन्त्रको विकल्प निरङ्कुश राजतन्त्र हुन नसक्ने बताउनुभयो । लोकतन्त्रले त्यहीँ भित्र विकल्प खोज्ने अवसर दिने बताउँदै उहाँले राजतन्त्रमा त्यस्तो विकल्प नहुने स्पष्ट पार्नुभयो । 

नेकपा (एमाले) बागमती प्रदेश कमिटी, प्रचार तथा प्रकाशन विभागद्वारा सञ्चालित

च्यासल, ललितपुर, नेपाल, फोन: +९७७ ९८४१५८९४५४, इमेल: [email protected]