काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले सामाजिक सञ्जालमा जसले जे लेखिदिए पनि हुने प्रवृत्ति निक्कै खतरनाक भएको बताउनुभएको छ ।
बुधबार काठमाडौंमा प्रेस चौतारी नेपाल एशोसियट प्रदेश समितिको दोस्रो अधिवेशनको उद्घाटन समारोहमा बोल्दै प्रेस चौतारी नेपालका इञ्चार्ज समेत रहनुभएका गौतमले सामाजिक सञ्जालमा लेखेको कुराको कसैले पनि जिम्मा लिनु नपर्ने स्थिति बनेको बताउनुभयो । पत्रकारिता क्षेत्रको लागि पनि यो विषय निक्कै चुनौतीपूर्ण भएको बताउनुभयो ।
सामाजिक सञ्चालनमा आएको विकृति नेपालको लागि मात्र होइन विश्वको लागि नै चुनौती बनिरहेको गौतमले बताउनुभयो । त्यसैले यसलाई नियमन र नियन्त्रण गर्नुपर्ने उहाँको धारणा छ । सरकारले ल्याएको सामाजिक सञ्जाल नियमन गर्ने विधेयक यस अर्थमा सही भएको गौतमले बताउनुभयो ।
सामाजिक सञ्जाललाई स्वच्छ राजनीतिक बहसको थलो बनाउनु पर्ने उहाँको धारणा छ । सामाजिक सञ्जालमा कुनै पनि विषयमा आफ्नो धारणा राख्ने गरेको नपाइएको उहाँको भनाइ छ । अहिले सामाजिक सञ्जाल फोटा राख्ने र गाली गर्ने थलो मात्रै भएका उहाँले बताउनुभयो ।
राजनीतिलाई स्वच्छ र मर्यादित बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । राजनीतिक विषयमा खुल्ला बहस गर्नुपर्ने गौतमको धारणा छ । ‘राजनीति देशको मूल नीति हो, राजनीति बिनाको जीवन परिकल्पना गर्न सकिँदैन, विचार विनाको स्वतन्त्रताले कुनै अर्थ राख्दैन’, उहाँले भन्नुभयो ।
गौतमले नेपाली पत्रकारितामा अहिले नलेख्ने पत्रकारहरूको भिड बढी भएको बताउनुभयो । यस्तो अवस्थामा प्रेस चौतारी आबद्ध पत्रकारहरूले आफ्नो भूमिकालाई थप बढाउनु पर्ने पनि गौतमको सुझाव छ ।
प्रतिक्रिया