आजको नेपाली खेल एकै पटक अहिलेको अवस्थामा आइपुगेको हाेइन : प्रधानमन्त्री

Bagmati

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली खेलाडीले छोडा अवधिमा नै अन्तर्राष्ट्रिय कृतिमान बनाएको बताउनुभएको छ । 

युवा तथा खेलकुद मन्त्रालयद्वारा मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित  पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाली खेलकुदलाई छोटो समयमा नै यो अवस्थामा पुर्‍याउन सफल भएको भन्दै खुसी व्यक्त गर्नुभयो । 

खेलाडीलाई कानुन नै बनाएर सरकारले सम्मानको व्यवस्था मिलाएको ओलीले बताउनुभयो । नेपालको खेलकुदको अनौपचारिक इतिहास धेरै पुरानो भए पनि औपचारिक इतिहास त्यति पुरानो नभएको ओलीले प्रष्ट पार्नुभयो । ‘यो छोटो समयमा पनि अनेक प्रयास भए’, उहाँले भन्नुभयो । 

आजको खेल एकै पटक अहिलेको अवस्थामा नआइपुगेको उहाँले बताउनुभयो । सबैको प्रयास र खेलाडीको अथक परिश्रमले अहिलेको सफलता प्राप्त भएको ओलीले प्रस्ट्याउनुभयो । ‘यसमा खेलाडीहरूको धेरै ठुलो प्रयासको महत्त्व छ, तर सँगसँगै पुराना अनुभवहरूको महत्त्व छ’, ओलीले भन्नुभयो । 

खेलकुदमा जितका लागि धेरै कुरा हुने भए पनि जितको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा खेलाडीको मनोबल नै भएको ओलीले बताउनुभयो । ‘मनोबल दह्रो राख्यो भने जितिन्छ, म भन्दा जान्ने खेलाडी छ, जितिएला  र भन्यो भने, पहिले नै हिम्मत हारियो भने जितिँदैन, खेल अलिक एग्रेसिभ नै खेल्नु पर्छ, एग्रेसिभ खेल भएन भने जित्न अलिक गाह्रो हुन्छ’, उहाँले भन्नुभयो । 

डिफेन्स गरेर मात्र खेल नजितिने बताउँदै ओलीले गोल गर्न बल हान्नै पर्ने बताउनुभयो । ‘पोष्टमा हान्नै पर्छ, अनि मात्र गोल हुन्छ, डिफेन्स मात्र गरेर पल्लो पोलमा बल पुर्‍याउन सकिएन भने कसरी गोल हुन्छ ?’, ओलीले भन्नुभयो । 

एग्रेसिभ खेल्नको लागि छिटो र फुर्तिलो खेल हुनुपर्नेमा उहाँले जोड दिनुभयो । यसको लागि टिम स्प्रिडमा खेल्नु पर्ने उहाँको राय छ । नेपाली खेलाडीको खेल छिटो र फुर्तिलो भएको भन्दै ओलीले प्रशंसा गर्नुभयो । यसका लागि खेलाडीलाई ब्यालेन्स डाइट र अभ्यास आवश्यक पर्ने ओलीले बताउनुभयो । 

नेपाली खेल धेरै उत्कृष्ट भएको बताउँदै ओलीले नेपाली खेलाडीले जित्न नसक्ने कुनै खेल नभएको बताउनुभयो । उहाँले यसका लागि राम्रो तयारी भने गर्न आवश्यक रहेको धारणा राख्नु भयो । 

नेपाल सरकार मन्त्रिपरिषद्को गत मङ्सिर २८ गतेको निर्णयबमोजिम तोकिएको मापदण्डका आधारमा आज खेलाडीलाई पुरस्कार प्रदान गरिएको हो । प्रधानमन्त्री ओलीको निर्देशनपछि खेल क्षेत्रमा दिइने पुरस्कारमा कर छुट हुँदै आएको छ ।

कार्यक्रममा साफ महिला फुटबल, एसियाली कराँते र कावा बिच भलिबल खेलमा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूलाई सम्मान र पुरस्कार प्रदान गरिएको छ । 

गत कात्तिक १ गतेदेखि १४ गतेसम्म काठमाडौँमा भएको साफ वुमन च्याम्पियनसिप, फुटबलमा पदक विजेता अमृता जैसी, मुख्य प्रशिक्षक राजेन्द्र तामाङ र व्यवस्थापक वृन्दा देवान लगायत तथा चीनको हाइजाओमा गत असोज १ गतेदेखि ७ गतेसम्म भएको बिसौँ एसियाली कराँते च्याम्पियनसिप पदक विजेता एरिका गुरुङ, मुख्य प्रशिक्षक कुशल श्रेष्ठलगायतलाई पुरस्कार प्रदान गरिएको छ । 

यस्तै गत साउन १७ गतेदेखि २० गतेसम्म भुटानको थिम्पुमा भएको कावा बिच महिला तथा पुरुष भलिबल प्रतियोगितामा विजेता कमला पुन, मनिषकुमारी चौधरी, प्रशिक्षक रुपेशकुमार विष्टलाई पुरस्कार प्रदान गरिएको हो । 

नेकपा (एमाले) बागमती प्रदेश कमिटी, प्रचार तथा प्रकाशन विभागद्वारा सञ्चालित

च्यासल, ललितपुर, नेपाल, फोन: +९७७ ९८४१५८९४५४, इमेल: [email protected]