काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको मौलिक संस्कार र संस्कृति यति बेला गम्भीर संकटमा परेको बताउनुभएको छ ।
नेकपा एमाले चितवनले मंगलबार बडादशैँ, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम बोल्दै महासचिव पोखरेलले सहकारी ठगेर खोलिएको सञ्चार माध्यम मार्फत नेपालको राजनीति, संस्कार र संस्कृति माथि आक्रमण गरिएको बताउनुभयो । नेपालको मौलिक संस्कृति माथि निरन्तर प्रहास भइरहेको छ र सांस्कृतिक मूल्यहरूको विगठन सुरु भएको छ’, उहाँले भन्नुभयो ।
जबसम्म यो प्रवृत्ति माथि विजय प्राप्त हुँदैन तबसम्म देश अघि बढ्न नसक्ने पोखरेलले बताउनुभयो । नेपालको मौलिक संस्कृतिको विगठनलाई रोक्न नसक्ने हो भने राष्ट्रलाई बलियो बनाउन नसकिने पोखरेलले स्पष्ट पार्नुभयो ।
सहकारीको सिद्धान्त विपरीत बचतकर्ताले जम्मा गरेको सहकारीको पैसा गोर्खा मिडियामा लगानी गरेर सोही मिडिया मार्फत नेपालको राजनीति र राजनीतिक दल माथि धावा बोल्ने काम भएको पोखरेलले बताउनुभयो । सो मिडिया मार्फत नेपालका राजनीतिक दललाई कमजोर बनाउने काम भएको पोखरेलको भनाइ छ । अब पुरानाले काम गर्न सक्दैनन् भन्ने भाष्य सोही मिडिया मार्फत निर्माण गर्ने काम गरिएको उहाँले बताउनुभयो ।
पोखरेलले रवि लामिछानेलाई दुई दुई पटक उपप्रधान तथा गृह मन्त्री नेकपा एमालेले बनाएको पनि उहाँले स्मरण गराउनुभयो । जबसम्म लामिछानेले काम गर्न पाउँदैनन् तबसम्म भ्रम छरिरहन्छ र जनताले चिन्न सक्दैनन् भनेर नै उनको वास्तविकता बाहिरे हवस् भनेर एमालले गृह मन्त्री बनाएको पोखरेलले स्पष्ट पार्नुभयो ।
सहकारी ठगी प्रकरणमा उच्चस्तरीय संसदीय छानबिन समितिले तयार गरेको प्रतिवेदन जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले पनि हस्ताक्षर गरेका छन् त्यसकै आधारमा अहिले रवि लामिछाने माथि अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । हिजो एमाले र कांग्रेसका नेताहरू अनुसन्धानको लागि पक्राउ पर्दा कुनै पनि विरोध जुलुस नभएका स्मरण गराउँदै पोखरेलले आरोपीलाई अनुसन्धानको लागि पक्राउ गरेर अनुसन्धान भइरहेको बेला नारा जुलुस गर्नेहरू सुशासनका पक्षधर र नयाँ शक्ति हुन नसक्ने उहाँले दाबी गर्नुभयो ।
पोखरेलले जति बेला एमालेका नेता माथि प्रश्न उठ्यो त्यति नै बेला एमालेले कारबाही गरी अनुसन्धान प्रक्रियामा सहयोग गरेको स्मरण गराउनुभयो । अनुसन्धान र अभियोजनको विरुद्ध आन्दोलन गर्नेहरू किमार्थ सुशासनको पक्षधर नहुने पोखरेलले स्पष्ट पार्नुभयो ।
अहिले एमाले र एमाले नेतृत्वको विरुद्धमा अनेक खाकाका भ्रामक प्रचार गरिएको पोखरेलले बताउनुभयो । त्यसलाई एमालेका नेता, कार्यकर्ताले चिर्नु पर्नेमा उहाँको जोड छ ।
पोखरेलले कांग्रेसको अहिलेको पार्टी कार्यालय मैयाँदेवी श्रेष्ठले दिएको दानको जग्गा भएको बताउनुभयो । राजनीतिमा कुनै संलग्न नरहेकी मैयाँदेवी श्रेष्ठबाट जग्गा र भवन बनाउने पैसा लिएपछि कांग्रेसले उहाँलाई पार्टी केन्द्रीय सदस्य र सांसद बनाएको पोखरेलले स्मरण गराउनुभयो । राप्रपाले पनि आफ्नो कार्यालय दानमा लिएका पोखरेलले बताउनुभयो । तर नेकपा एमालेले आफ्नो पहिलाको भवन भूकम्पले ढले पछि नयाँ घर बनाउन जग्गा दान लिँदा अहिले देशमा बवण्डर मच्चिएको भन्दै उहाँले आपत्ति जनाउनुभयो । एमालेका कार्यकर्ता पनि कतै गल्ती पो भयो कि भनेर हिँडेका पोखरेलले बताउनुभयो ।
यो नेपालमा मात्र नभए विदेशमा पनि भएको उहाँले बताउनुभयो । संसार भरिका राजनीतिक दल दान र सहयोगबाटै चलेका उहाँले स्पष्ट पार्नुभयो । ‘अरूले गर्दा लोकतन्त्र हुने, एमालेले गर्दा भ्रष्टाचार हुन्छ ?’, उहाँले भन्नुभयो ।
पोखरेलले हरेक घटनाको छानबिन गर्न पनि चुनौती दिनुभयो । ‘हरेक घटनाको छानबिन गरौँ, जेल जाने एमालेका होइनन् अरू पार्टीका नेताहरू पर्ने छन्, अहिले सहकारीका जस्तै’, पोखरेलले भन्नुभयो ।
पोखरेलले देश बनाउने हो भने देश बनाउन सक्ने राजनीतिक दलको भर पर्नुपर्ने बताउनुभयो । त्यसका लागि बलिया राजनीतिक दल आवश्यक पर्ने उहाँले स्पष्ट पार्नुभयो । ‘बलिया राजनीतिक दलले देश नउन सक्दछ भन्ने सच्चाइलाई बुझेर हामी अगाडि बढ्नु पर्दछ’, उहाँले भन्नुभयो ।
प्रतिक्रिया