काठमाडौं । नेकपा एमालेले एमालेको केन्द्रीय कार्यालय भवन बनाउने विषयमा अनावश्यक विवाद नझिक्न आग्रह गरेको छ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीको नयाँ केन्द्रीय कार्यालय भवन बनाउने विषयमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अनावश्यक विवाद सिर्जना गरेर एमाले विरुद्ध दुष्प्रचार भइरहेको बताउनुभएको छ ।
मंगलबार प्रेस नोट जारी गर्दै गौतमले मीनबहादुर गुरुङ र सावित्री गुरुङले स्वइच्छाले जग्गा दान दिएको विषयमा कुनै लेनदेन नभएको स्पष्ट पार्नुभएको छ । त्यसैले एमाले नेतृत्व विरुद्ध अनावश्यक प्रचार नगर्न उहाँले आग्रह गर्नुभएको छ । ‘नेकपा एमालेको केन्द्रीय कार्यालय भवन निर्माणको विषयलाई लिएर पार्टीभित्र र बाहिर अनेकखालका भ्रम, अफवाह फैलाउने, गलत सूचना प्रवाह गरी मिडियालाई दुरुपयोग गरी पार्टी, पार्टी नेतृत्वका विरुद्ध विष वमन गर्ने काम भइरहेको छ’, उहाँले लेख्नु भएको छ ।
दानवीर मीनबहादुर गुरुङ र सावित्री गुरुङले बाढी, लेदोले क्षतविक्षत भएको नेकपा (एमाले)को केन्द्रीय कार्यालयको दुरावस्था देखि नयाँ कार्यालय भवन निर्माणका लागि १० रोपनी १४ आना जग्गा प्रदान गर्नु भएको उहाँले स्पष्ट पार्नुभएको छ । ‘स्वेच्छाले जग्गा दान गर्नुभयो, एमालेले ग्रहण गर्यो, तथ्य नबुझी बदनाम नगरौँ’, उहाँले लेख्नु भएको छ ।
उहाँले तथ्य बुझेर मात्रै आफ्ना धारणा राख्न पार्टीका नेता कार्यकर्तालाई पनि आग्रह गर्नुभएको छ । ‘तथ्य नबुझी बदनाम नगरौँ, पार्टी केन्द्रीय सचिवालयको निर्णयका आधारमा जग्गा लिने, भवन निर्माण गर्ने गरी भवनको शिलान्यास गरिएको हो’, उहाँले लेख्नु भएको छ । यसमा पार्टी सदस्य र मतदाताको अपमान हुने काम पार्टीको तर्फबाट नभएको उहाँले स्पष्ट पार्नुभएको छ । सस्तो लोकप्रियताका लागि, मिडिया कन्जम्सन, पब्लिक कन्जम्सनका लागि फगत पेपर वार नगरौँ, सोसल मिडियाको दुरुपयोग नगरौँ’, गौतमले लेख्नु भएको छ ।
प्रतिक्रिया