काठमाडौं । नेकपा एमाले वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले पार्टीले दिएको जिम्मेवारी अनुसार उपलब्धि प्राप्त हुने गरी काम गर्नुपर्ने बताउनुभएको छ ।
बिहीबार नेकपा एमाले रामेछापको तेस्रो जिल्ला कमिटी पूर्ण बैठकमा बोल्दै ढुङ्गेलले पार्टीले आवश्यक ठानेर दिएको जिम्मेवारी पुरा गर्नु पार्टीका सबै नेता कार्यकर्ताको दायित्व भएको बताउनुभयो । ‘पार्टीको निर्णयलाई मान्नु पर्छ, पार्टीको निर्णयलाई यताउति भन्ने कुरा हुँदैन’, उहाँले भन्नुभयो ।
ढुङ्गेलले नेकपा एमाले मात्र गन्तव्य बोकेको पार्टी भएको बताउनुभयो । नेपालका अन्य पार्टीको कहाँ पुग्ने भन्ने बाटो नै स्पष्ट नभएको ढुङ्गेलले स्पष्ट पार्नुभयो । ‘बाटो नभएको पार्टीले कसैको न कसैको लौरो टेक्छ, प्रचण्ड आज राजावादीको बाटोमा पुग्नु भएको छ’, ढुङ्गेलले भन्नुभयो ।
नेपाल बनाउन एमालेले बहुमत प्राप्त गर्नुपर्ने बताउँदै ढुङ्गेलले त्यसकै लागि एमालेले मिसन २०८४ भनेको उहाँले स्पष्ट पार्नुभयो । एमालेको हिँड्ने बाटो स्पष्ट छ, यसलाई कसैले पनि रोक्न सक्दैन, बगिरहेको पानीमा लेउ लाग्दैन भने जस्तै एमालेको आन्तरिक जीवनमा पनि लेउ लाग्नु हुँदैन’, उहाँले भन्नुभयो ।
हिजो पार्टीको अधिवेशन कसले कसलाई सघायो वा सघाएन भन्ने कुरा छाडेर अब मिसन २०८४ मा केन्द्रित हुनु पर्ने उहाँले बताउनुभयो । पार्टी भित्र कित्ताकाट गर्नेले गरिखाने उहाँले स्पष्ट पार्नुभयो । ‘आफ्नो भित्रको अन्तर कलहलाई बाँकी राख्नु हुँदैन, यसलाई त्याग्नु पर्छ’, ढुङ्गेलले भन्नुभयो ।
प्रतिक्रिया