काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राज्य बलियो नभई जनता बलिया हुन नसक्ने बताउनुभएको छ ।
नेकपा एमाले दाङ लमही नगरपालिका कमिटीको दोस्रो नगर अधिवेशनलाई सोमबार देउखुरीमा उद्घाटन गर्दै पोखरेलले राज्य बलियो हुन राजनीतिक दल बलिया हुनुपर्ने बताउनुभयो । ‘राजनीतिक दल बलिया हुन तपाईँ हामीले आफ्नो पार्टी बलियो बनाउनु पर्दछ’, पोखरेलले भन्नुभयो ।
नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति निर्माणको क्रममा एमाले लागेको उहाँले बताउनुभयो । ‘नेपालमा अब सानातिना पार्टी राखेर समाजवाद आउँदैन, समाजवादको यात्रामा लाग्ने हो भने सानातिना दोकान बन्द गर्नुपर्दछ, यसले मात्रै मुलुकमा बलियो कम्युनिष्ट शक्ति निर्माण हुन सक्दछ र त्यसको जगमा मात्र समाजवादको आधार तयार हुन्छ भन्ने सच्चाइलाई बुझ्नु पर्दछ’, उहाँले भन्नुभयो ।
समाज बदल्नको लागि जनताको भावनाको नेतृत्व गर्न सक्नु पर्ने बताउँदै उहाँले अब सानातिना वामपन्थी पार्टीमा अलमलिने समय सकिएको स्पष्ट पार्नुभयो । अब समाजवादको आधार निर्माण गर्न सक्ने एउटा बलियो शक्ति निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
पार्टीलाई कमजोर पार्दा के हुँदो रहेछ भन्ने कुरा आज माधव नेपाल र झलनाथ खनालको स्थिति हेरेर बुझ्नु पर्ने पोखरेलले बताउनुभयो । माधव नेपालका पार्टीका नेताहरू अहिले देशको होइन विदेशको पैरवी गर्न लागेका उहाँले सुनाउनुभयो ।
बलियो राज्य र सक्षम नागरिकले मात्र देश जोगाउन सक्ने उहाँले बताउनुभयो । लोकतन्त्रमा जनता अधिकार सम्पन्न हुनुपर्ने बताउँदै पोखरेलले अधिकारसँग जनताले कर्तव्यको पनि ख्याल राख्नु पर्ने बताउनुभयो । कर्तव्य बिनाको अधिकार समस्याको खानी भएको उहाँको धारणा छ ।
समाज बदल्ने कुरा निक्कै महत्त्वपूर्ण भएको बताउँदै पोखरेलले समाज बदल्ने भनेको जनताको जीवनस्तर बदल्ने कुरा पनि भएको बताउनुभयो । त्यो यात्रा अब सुरु भएको उहाँको धारणा छ । त्यो यात्रामा अझ ज्यादा समर्पणभाव आवश्यक रहेको पोखरेलले प्रष्ट पार्नुभयो ।
केपी ओली नेतृत्वको वर्तमान सरकार बनेपछि समाजमा केही आशा पलाएको उहाँले बताउनुभयो । ‘उद्योगी व्यवसायीहरू आशावादी बनेका छन्, मुलुकको आर्थिक अवस्थामा सुधारका लक्षणहरू देखा पर्न थालेका छन्, निरन्तर रूपमा ओरालो लागेको मुलुकको अर्थतन्त्र सकारात्मक दिशा तर्फ अगाडि बढ्ने सङ्केत देखा परेको छ, मुलुकको राजश्वमा वृद्धि हुन लागेको छ’, उहाँले भन्नुभयो ।
यस्तो बेलामा सरकारलाई काम गर्न दिनु पर्नेमा सरकारलाई घेराबन्दी गर्ने, काम गर्न नदिने, अराजकता सिर्जना गर्ने प्रवृत्तिहरू पनि देखा परेका पोखरेलले बताउनुभयो । जति बेला मुलुकमा केही काम हुन थाल्दछ त्यति बेला त्यस्ता शक्तिहरू जुरमुराउने गरेको पोखरेलको भनाइ छ ।
जनतामा बढ्दो निराशा चिर्न दुई ठुला राजनीतिक दल मिलेर सरकार बनाएका उहाँले बताउनुभयो । मुलुकको उज्यालो भविष्यको यात्राको लागि दुई ठुला दल कांग्रेस र एमाले मिलेका उहाँले प्रष्ट पार्नुभयो ।
नेपालको मौलिक संस्कृति माथि अहिले प्रहार भइरहेको उहाँले बताउनुभयो । जातीय र धार्मिक अतिवादीहरूलाई प्रयोग गरेर नेपालको मौलिक संस्कृति माथि प्रहार गर्ने काम भइरहेको पोखरेलले प्रष्ट पार्नुभयो । त्यस्तै नेपालको धर्मान्तर गरेर नेपाली समाजको मौलिकता माथि आक्रमण गर्ने काम भएको पोखरेलले बताउनुभयो ।
पोखरेलले नेपालको राजनीतिले सही बाटो समाउने बेला आएको बताउनुभयो । त्यस अर्थमा नेकपा एमालेलाई बलियो राजनीति शक्ति बनाउने दायित्व नेकपा एमालेका नेता, कार्यकर्ताको काँधमा आएको बताउनुभयो ।
नेपालका राजनीतिक दल मध्ये नेपाली समाजलाई बुझेको, इतिहासको जानकारी राख्ने र भविष्यका निम्ति योजना बनाउन सक्ने सक्षम नेतृत्वका रूपमा एमाले अध्यक्ष केपी ओली रहनुभएको उहाँले बताउनुभयो । दुनियाँका नाम चलेको विश्वविद्यालयले आज केपी ओलीको प्रवचन सुन्न चाहेका पोखरेलले बताउनुभयो । ‘दुनियाँले पत्याएको नेता, तर हाम्रो समाज कस्तो छ भने केपी ओलीको आलोचना नगर्ने हो भने राजनीति गर्नुको के अर्थ छ र भन्ने अर्थमा भर्खर राजनीति सिक्न लागेको मान्छेले पनि आफू चर्चामा आउन केपी ओलीको विरोध गर्ने प्रवृत्ति नेपाली समाजमा हुर्कन लागेको छ, चर्चामा आउनु पर्यो भने केपी ओलीको विरोध गर्ने गलत परम्परा नेपाली समाजमा हुर्किएको छ’, पोखरेले भन्नुभयो ।
यस्तो हिसाबले देश नबन्ने उहाँले बताउनुभयो । कुनै पनि देश बनाउने हो भने हरेक कुरालाई सकारात्मक ढङ्गले सोच्न सक्नु पर्ने पोखरेलले बताउनुभयो । राजनीतिक अस्थिरता र सामाजिक अराजकताको चुनौतीलाई चिर्न नसके देश बनाउन नसकिने पोखरेलले प्रष्ट पार्नुभयो ।
प्रतिक्रिया